एसपी रिपोर्टर
जनकपुरधाम, असोज २९ : धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अनिल झाले कांग्रेसीले आफुलाई बिरानो बुझन नहुने बताएका छन् । जनकपुरधाममा शनिवार आयोजित गठबन्धनको चुनाव प्रचार प्रसार सम्बन्धी नगर स्तरीय कार्यक्रता भेलालाई सम्बोधन गर्दै झाले आफु एक काँधमा लोकतन्त्र र एक काँधमा मधेशवाद बोकेर कांग्रेसबाटै राजनिति थालेका स्व.गजेन्द्र नारायण सिंहको शिष्य रहेको र महन्थ ठाकुर जस्ता लोकतन्त्रवादी नेता नेतृत्वको पार्टीको नेता रहेको कुरा बुझेर बिरानो नबुझन आग्रह गरेका छन् ।

लोसपाबाट क्षेत्रको प्रदेशसभा क्षेत्र ‘ख’ बाट उम्मेदवार नेता परमेश्वर साह समेत कांग्रेसबाटै राजनिति गरेर आएको बताउदै उनले कांग्रसको मन जित्ने प्रयास गरेका छन् । कार्यक्रममा बोल्दै गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार साहले कांग्रेसको बागी उम्मेदवार हरिशंकर साह तर्फ लक्षित गर्दै लोसपालाई लोकतान्त्रिक सहयात्री बुझेर इमान्दारिताका साथ गठबन्धन जिताउन आग्रह गरेका छन् ।

कांग्रेसबाट क्षेत्र नं. ३ ‘क’ मा प्रदेशसभा सदस्यका उम्मेदवार नेता रामसरोज यादवले पनि बागी उम्मेदवार साहलाई राजनितिक भविष्य देखेर गठबन्धनको साथमा आउन आग्रह गरेका छन् । उनले साहको नाम एकल सिफारिस गरिएको स्मरण गराउदै गठबन्धनका कारण मात्र परिस्थिती बदलीएकाले परिस्थतीलाई बुझन आग्रह गरेका छन् । कार्यक्रममा कांग्रेस, लोसपा, माओवादी र नेकपा एसका नेता कार्यक्रताहरुको उपस्थिती थियो ।