एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ : संघिय सरकारबाट जसपाका मन्त्रीहरु हटाइएपछि जसपा नेतृत्वको मधेश सरकारले पनि अन्य पार्टीका मन्त्रीहरुलाई बरखास्त गर्ने तयारी थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघिय सरकारका चार मन्त्रीहरुलाई बरखास्त गरेपछि मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले पनि मधेश सरकारमा रहेको कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरुलाई हटाउने तयारी गरेको छ ।
मधेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले भने, ‘हामीलाई हटाए पछि हामी पनि के गर्ने विषयमा छलफलमै छौं केहि बेरमा आधिकारिक निर्णय हुनेछ ।’ मधेश सरकारमा कांग्रेसका तिन, माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नेकपा एसका एक मन्त्री सरकारमा रहेको छ ।
कांग्रेसका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा, माओवादी केन्द्रका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्य मन्त्री रुबी कुमारी कर्ण र कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादव तथा नेकपा एसका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतोलाई हटाउने तयारी थालिएको छ ।