एसपी रिपोर्टर
जनकपुरधाम, असोज २४ : जनकपुरधाममा बसेर यातायात व्यवसाय गर्दै आएका युवा राम दुलार महतो (राम सिंह) राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । अगामि मसिंर चार गते हुने निर्वाचनमा उम्मेदवारीका लागि सिंहले आइतवार युवाहरुको साथमा उम्मेदवारी दर्ता गराएका छन् ।
एक कुशल र सबैको प्रिय युवाका रुपमा पहिचान बनाएका सिंह रवि लामिक्षाने नेतृत्वको पार्टी रा.स्व.पा.बाट उम्मेदवार बनेका हुन । सो क्षेत्रमा तत्कालिन राजपा बाट अप्रत्यासित रुपमा निर्वाचित हाल जसपाका नेता प्रमोद साह एमाले र जसपाको गठबन्धनबाट उम्मेदवार छन भने सत्ता गठबन्धनबाट लोसपाले टिकट पाएको छ ।
सिंहले कांग्रेस, माओवादी र एमाले जस्ता मुख्य तिनैदलहरुको उम्मेदवार नरहेकाले त्यस दलका नेता कार्यक्रताहरुले आफुलाई मत दिने दावी गर्छन । दलहरुको रबैयाले उम्मेदवारी समेत दिन सक्ने अवस्था हराउदै गएको र जनतामा निरासा छाएकाले युवाहरुको आग्रहमा आफु उम्मेदवार बनेको र जित्ने दावी सिंहको छ ।
उनले भने, ‘२०७४ सालको निर्वाचनमा कुनै पनि आधार नरहेको राजपाका प्रमोद साहले यहाँ चुनाव जित्न सक्छ भने रवि लामिक्षाने जस्ता देशकै नायकका रुपमा परिचितको नेतृत्वमा रहेको कुनै कलंक नभएको पार्टीको उम्मेदवार म किन जित्न सक्दिन ?’ यातायात व्यवसाय जनताको सेवा नै हो म अहिले पनि जनताको सेवामै छु र रहिरहने छु उनले थपे ।