एसपी रिपोर्टर
काठमाण्डौं, असोज २२ : नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् ।
सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका छन् । सत्ता गठबन्धनको भागवण्डामा रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको छ । माओवादी नेताहरुले भुसाललाई आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न समेत प्रस्ताव गरेका छन् । तर भुसालले भने कुनै दलको चुनाव चिह्नमा नलड्ने बताएका छन् । स्रोतका अनुसार भुसालले स्वतन्त्र उम्मेदवारी दिने र गठबन्धनले समर्थन गर्ने सम्भावना छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् । पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उनले बताएका छन् ।
भूसालले सामाजिक सन्जालमा लेखेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’
उनले थप लेखेका छन्, ‘नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुन: भेट हुनेछौं ।’