एसपी रिपोर्टर
काठमाण्डौं, असोज १६ : नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दूर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरु सधैं सचेत रहनुपर्ने बताउनु भएको छ । नेता निधिले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरु सचेत रहनुपर्ने बताउनु भएको हो ।
१५३ औं गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली जनता परिवर्तनको पक्षमा उभिँदै त्यसलाई सदुपयोग गरेर मुलुकको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको भन्दै त्यसको अगुवाई राजनीतिक दलहरुले गर्नुपर्ने स्पष्ट पार्नु भयो ।

नेता निधिले नेपालको मात्रै नभई विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवद्र्धनका लागि गान्धी विचाराधारा सबैभन्दा उत्तम बाटो भएको तर्क समेत गर्नु भयो । आलोचकहरु पनि आज विश्वभर गान्धी र गान्धी विचारबाट प्रभावित हुँदै गएको उहाँको भनाई थियो । नेता निधिले गान्धी विचारधारा माक्र्स विचारधारा भन्दा पनि माथि रहेको जिकीर समेत गर्नु भयो ।
एता नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रुपमा मनाउनुपर्ने बताउनुभएको छ । १५३ औं गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
राजदुत श्रीवास्तवले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताउनु भयो । उहाँले भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने बताउनु भयो । उहाँले गान्धीका नैतिक र आध्यात्मिक विचारधारा अँगाल्ने हो अहिंसा र शान्तिको पथमा समाज रुपान्तरण हुने बताउनु भयो ।
उहाँले महात्मा गान्धीको विचारधारको एकांश पनि कसैले आफ्नो जीवनमा अनुशरण गर्ने हो भने समाज शान्त र सुव्यवस्थित बन्ने दाबी गर्नुभयो ।