एसपी रिपोर्टर
जनकपुरधाम, असोज १६ : विजयादशमीको सातौं दिन जनकपुरधाम सहित यस क्षेत्रका शक्तिपिठ र पण्डालहरुमा फुलपाती भित्रयाइएको छ । फुलपातीको विधिलाई यहाँ बेलतोरी विधी समेत भनिन्छ । तराई–मधेसका शक्तिपीठ र दुर्गा मन्दिरहरुबाट बाजागाजाका सहित धार्मिक झाँकीका साथ निक्लेको साधुसन्त र भक्तजनहरुको समुह षष्ठीका दिन आमन्त्रण गरिएको बेल (फल)लाई विधि पुर्वक टिपेर आज मन्दिरमा प्रतिस्थापन गरि फुलपाती मनाईएको छ ।
जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरबाट महन्थको नेतृत्व र आयोजक महाविर युवा कमिटिको अगुवाईमा आज पनि बाजागाजा सहित निक्लेको टोली हिजो आमन्त्रण गरिएको बेलको विधिपुर्वक पुजापाठ गरि मन्दिरमा भित्राइएको छ । बेलको रुखमा एउटै हाँगामा फलेको एक जोडा बेललाई कपडाले बाधेर निमन्त्रणा दिइएको हुन्छ ।
विधिपूर्वक तोडेर डोलामा सजाएर बेललाई भगवतीको रुपमा ल्याएर देवीको प्रतिमामा विराजमान गराईएपछि फुलपाती सम्पन्न हुन्छ । सोहि विधी पछि पण्डालहरुमा बनार्ईएको माँ दुर्गा भावनी सहितको देवीदेवताको मुर्ती दर्शनका लागि आजैबाट खुल्ला गरिन्छ । प्रत्येक वर्ष जस्तै फुलपातीको अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बाजाजागा सहित सहभागि भएका छन् ।
सो अवसरमा सशस्त्र प्रहरी र नेपाली सेनाले दुई/दुई तोपको सलामी समेत अर्पण गरेका छन् । टोलीमा स्थानिय सरकारका प्रमुख, उपप्रमुख, प्रशासनिक निकायका प्रमुखहरु, प्रदेश र संघिय सांसदहरु सहित विशिष्ठ व्यक्तिहरुको सहभागिता हुने गर्दछ । दशैंमा ९ दिन सम्म शक्तिपीठ तथा घरमा पूजा अर्चना सहित दुर्गा भगवतीके स्तोत्र पाठ गरिन्छ ।
नवरात्रीको सातौ दिन माँ कालरात्रीको पुजापाठ भइरहेको छ । प्रत्येक दिन नवदुर्गाको एक–एक स्वरूपको आराधना गरिने परम्परा अनुरूप आश्विन शुक्ल सप्तमी तिथिमा देवी कालरात्रीको पूजा–आराधना गरिन्छ । नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, र्छठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरि दशैंमा शक्ति पूजा गर्ने परम्परा छ ।