एसपी रिपोर्टर
जनकपुरधाम, असोज १५ : नेकपा एमालेका सचिव रघुवीर महासेठले अध्यादेश ल्याएर नागरिकता समस्या समाधान गर्न सरकारलाई चुनौती दिनुभएको छ । जनकपुरधाममा शनिबार भएको कार्यक्रममा एमाले सचिव महासेठले सत्ता गठबन्धन सरकारले चाहेमा तत्काल अध्यादेश ल्याएर नागरिकता समस्या समाधान गर्न सक्ने बताउनुभएको हो ।
उहाँले अध्यादेशबाट जन्मसिद्ध नागरिकताका सन्तानलाई नागरिकता दिन सकिने भए पनि सरकारले किन ल्याउन नसकेको भनेर प्रश्न गर्नुभयो । सचिव महासेठले अहिलेको सरकारले चुनावसम्म नागरिकता समस्या समाधान नगर्ने पनि दाबी गर्नुभयो । नागरिकताको विषय लिएर सरकारले एमालेविरुद्ध भ्रम छर्ने काम मात्र गरेको उहाँले आरोप छ ।
सचिव महासेठले मंसिर ४ को चुनावपछि नेकपा एमाले बहुमतको सरकार बनाउने पनि दाबी गर्नुभयो । आफूहरूको सरकार बनेपछि एक महिनाभित्र नागरिकतासम्बन्धी समस्या समाधान गर्नेसमेत उहाँको दाबी छ । महासेठले पछिल्लो समय मधेशी दलका नेताहरूको एमालेप्रति आकर्षण बढेको भन्दै एमाले मधेश विरोधी नभएर मधेशमैत्री पार्टी भएको पनि बताउनुभएको थियो ।
कार्यक्रममा एमाले नेतृ जुली महतोले धनुषा क्षेत्र नम्बर ३ को विकासका लागि एमालेलाई विजयी बनाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा नेता शिवशंकर साह हिरा, जानकीराम साहलगायत सहभागी भएका थिए ।