एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ : प्रतिनिधीसभातर्फ धनुषाको क्षेत्र नं. १ मा त्रिकोणात्मक प्रतिस्पर्धा निश्चित छ । पाँचदलिय गठबन्धनको उम्मेदवार माओवादीका नेता पुर्वमन्त्री तथा वर्तमान सांसद मातृका प्रसाद यादव तय जस्तै छ । उनको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार संग हुनेछ । एमालेको उम्मेदवार भने तय भइनसकेको अवस्था छ ।
एमालेबाट वर्तमान प्रदेश सांसदहरु किशोरी साह कमल, रामचन्द्र मण्डल प्रतिनिधीसभाका लागि दौडधुपमा रहेको छ । क्षेत्रमा एमालेबाट तेजु यादव, रामसिंह यादव, सविता यादव पनि आंकाक्षी छन् । यद्यपि प्रतिनिधीसभा तर्फ कमल वा मण्डल उम्मेदवार हुन सक्ने चर्चा छ । एमाले धनुषाले जिल्ला सचिव तेजु यादवको नाम पनि प्रतिनिधीसभा तर्फ सिफारिस गरेको छ ।
सो क्षेत्रमा तेस्रो उम्मेदवार निश्चित छ उनी हुन हाल जसपाका नेता र २०७४ को निर्वाचनमा प्रतिनिधीसभा तर्फको उपविजेता दिपक कार्की । गत निर्वाचनको पुर्व सन्ध्यामा कांग्रेस पार्टी परित्याग गरि जसपाबाट चुनाव लडेका उनी कांग्रेसका आनन्द प्रसाद ढुङ्गानालाई उछिन्दै मातृका संग पराजित भएर उपविजेताको स्थान बनाए । गठबन्धनका उम्मेदवार मातृका हुने निश्चित रहेकाले कार्की स्वतन्त्र लडने कम्मर कसिसकेका छन् ।
उनले पार्टीलाई पनि सो जानकारी गराइसकेको बताइन्छ । आफुले टिकट नपाए पनि स्वतन्त्र लडने उनको मनस्थिती तय छ । कार्की आफुसंग अन्याय भए स्वतन्त्र भिडने बताउदै आएका छन् । कांग्रेस पार्टी परित्याग गरि आफु जनताकै बिचमा जान जसपामा आएको र जनताले यस अघि उपविजेता बनाएकाले सो मतको सम्मानका लागि पनि आफु पछाडि हटन नहुने तर्क कार्कीको छ ।कांग्रेसका दाबेदार ढुङ्गाना समानुपातिकमा गइसकेपछि कांग्रेस शान्त छ यद्यपि कांग्रेसको मतले सो क्षेत्रको भविष्य निर्धारण गर्नेछ । त्यहाँ थप एक उम्मेदवार पनि आउन सक्ने विश्लेषण भइरहेको छ ।
२०७४ को निर्वाचनमा वाम गठबन्धनका मातृका यादव विजयी भएका थिए । माओवादी उम्मेदवार यादव २६ हजार ४१४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत पाएका थिए । यादव यसअघि माओवादी केन्द्रबाटै २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पनि समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनी पटकपटक मन्त्री समेत बनिसकेका छन् ।