एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० : नेकपा एमालेका सचिव रघुविर महासेठले जन्मसिद्व नागरिकको सन्तानलाई वंशजको नागरिकता दिनु पर्ने प्रावधान झलनाथ खनालको कार्यकालमै भएको भएपनि त्यसवेला पनि कांग्रेसले अवरोध गरेको बताएका छन् ।
जनकपुरधाममा नेकपा एमाले धनुषा क्षेत्र नं. ३ को क्षेत्रीय पार्टी कार्यालयको समुदघाटन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका महासेठले आफु सिचाई मन्त्री रहेको झलनाथ खनाल नेतृत्वको सरकारले नै जन्मसिद्व नागरिकको सन्तानलाई वंशजको नागरिकता दिनु पर्ने निर्णय गरेको भएपनि कांग्रेसले रोकेको बताए ।
महासेठले २०५१ सालको नेकपा एमालेको ९ महिने सरकारकै पालमा घनपति उपाध्याय नेतृत्वको नागरिकता आयोग गठन गरि ६२ हजार नेपाली नागरिकलाई नागरिकता दिएपछि पनि कांग्रेसले अवरोध गरेको उनले बताए । २०५४ सालमा बामदेव गौतम गृहमन्त्री छदा पनि नागरिकता आयोग बनाएर नागरिकता प्रदान गरिएको उनले बताए ।
मधेशी दल चुनावको बेलामा नागरिकतालाई एजेन्डा बनाएर पाँच वर्ष विर्षने गरेको उनको आरोप थियो । जनकपुरधामको विकास हुन नसकेको कारण खोज्नु पर्ने बेला आएको बताएका छन् । कार्यक्रममा नेतृ तथा पुर्व मन्त्री जुली महतोले जनताको सुख र स्मृद्वि एमालेको एक मात्र अभियान रहेको कुरा बुझाउन सक्नु पर्ने बताएकी छन् ।
नेता शिवशंकर साह हिराले धनुषा ३ मा यसपालि एमाले समक्ष जित्ने सुर्वण अवसर आएकाले सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नेकपा एमालेका नेताहरुको उपस्थिती थियो ।