एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० : जनकपुरधाम पछि यस क्षेत्रमै विजयादशमीमा सर्वाधिक बोकाबली प्रदान र भिडभाड हुने सबैला स्थित माँ दुर्गा भवानीमेलाको शुभारम्भ भएको छ । सबैला बजार स्थित माँ दुर्गा भवानी भन्दिरमा कलस्थापनाका लागि भब्य कलश यात्रा निकालिएको छ । दशैंको पहिलो घटस्थापनाका दिन तराई–मधेशका विभिन्न शक्तिपिठ, पण्डालका साथै सबैलामा पनि कलश शोभा यात्रा निकालिएको छ । कलश स्थापना संगै विधिवत रुपमा नवरात्रा सुरुवात भएको मानिन्छ ।
प्रत्येक वर्ष जस्तै सबैला स्थित श्री दुर्गा भवानी मन्दिरको प्राङ्गणबाट बाँजागाँजासहित निकालिएको कलश यात्राले वडाका बिभिन्न भागको परिक्रमा गर्दै सतोषरधाम स्थित श्री सप्तेश्वरनाथ महादेव मन्दीर अगाडिको एतिहाँसिक सतोखरी (कुण्ड) मा कलशबाट जल भरेर पुन: दुर्गा मन्दिरमा स्थापित गरिने परम्परा छ । भगवती दुर्गा भवानीको मन्दिर यतिबेला रङ्गरोगन गरि दुल्ही झै सजाइएको छ ।
स्थानिय माँ दुर्गा भवानी प्रतिस्ठानले प्रत्येक वर्ष सबैलामा भब्य मेलाको आयोजना गर्ने गरेको छ । मन्दिरमा धनुषा, महोतरी, सिरहाका साथै मित्रराष्ट्र भारत विहारका दर्शनार्थीहरु समेत दर्शन र बोकाबलीका प्रदान गर्न आउने गरेका छन् । जनकपुरधाम स्थित मुख्य शक्तिपिठ माता राजदेवी मन्दिर पछि यस क्षेत्रमै सर्वाधिक बोकाबली प्रदान सबैला स्थित दुर्गा मन्दिरमै हुने गरेको छ । अपार श्रद्धा र विश्वासका कारण यहाँ भिडभाड हुने गरेको पुजारी भागेश्वर मिश्र बताउँछन् । सबैलामा अष्टमी देखि दशमी सम्म तिन दिन बोकाबली प्रदान हुने गर्दछ ।
घटस्थापना देखिनै मेला सुरु हुने भएपनि सप्तमी देखि एकादशी सम्म एकदमै भिडभाड सहित मेला लाग्ने भएकाले सवैलाको मेला प्रसिद्व रहेको प्रतिस्ठानका सचिव नथुनी यादवले बताए । एकादशीका दिन हुने माँ दुर्गा भवानीको भसौनी कार्यक्रम मा पनि अत्याधिक भिडभाड हुने गरेकाले यो मेला चर्चित छ । मेलामा आकर्षक पहलमानी, सांस्कृतिक कार्यक्रम, खेलकुद सहितका विभिन्न गतिविधी मेलाको आकर्षण हुने गर्दछ ।
धनौजीमा पनि भब्य कलश यात्रा
एता धनुषाको धनौजी स्थित माँ दुर्गा भवानी मन्दिरमा पनि आज घटस्थापनाका दिन भब्य कशल शोभा यात्रा निकालिएको छ ।