एसपी रिर्पोटर
धनुषा, असोज ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको जनमत पार्टीको आरोप छ । त्यस्तै सत्ता गठबन्धनले पनि हालसम्म किसान आन्दोलनका मागहरू सम्बोधन नगरेकोले जनमतले आन्दोलन घोषणा गरेको पार्टी अध्यक्ष डा. सीके राउतद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

असोज ९ र १० गते हरेक वडास्तरमा दशैंको शुभकामना दिनुका साथै नागरिकताको अधिकार खोसेको विषयबारे माइकिङ गर्ने, असोज ११ देखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते किसान आन्दोलनको माग सम्बोधन नगर्ने र नागरिकता अधिकार खोस्नेहरुको रावणरुपी पुतला दहनको कार्यक्रम राखिएको अध्यक्ष राउतले जानकारी दिएका छन् ।