एसपी रिर्पोटर
धनुषा, असोज ८ : एमाले अध्यक्ष केपि शर्मा ओलीले मधेश आन्दोलनका बेला आफु मधेश आउँदा राज्य र केहि समुहले मान्छे मार्न थालेपछि जनताको माया लागेर मधेश आउन छोडेको बताएका छन् ।
धनुषाको क्षेत्र नं. २ तिनकौरिया बजारमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री ओलीले सप्तरीको मलेठमा आफु आउँदा राज्यले जनता मारेर उपद्र मचाएको भन्दै त्यसपछि जनताको माया लागेर ‘भयो अव जान्न’ भन्दै तराई मधेश आउन छाडेको बताएका छन् ।
आफु मधेश आउन छोडेपनि मधेशको विकास र सुधारका लागि धमाधम काम गर्न थालेको र फलस्वरुप आज जनताको माया पाइरहेको उनको तर्क छ । उनले आज आफनै सरकारले बनाएको रेलमार्गमा आफैले किनेको वाताअनुकुलित आधुनिक रेल चढेर आउँदा खुसी लागेको बताउदै रेलमार्ग र हुलाकीमार्ग एमालेको देन रहेको बताए ।
आफनो सरकारले जन्मसिद्वका नागरिकको भलाईका लागि नागरिकता ऐन ल्याउँदा संसद, संसदिय समिति र हरेक वार्ता र छलफलमा समेत गठबन्धनका केहि दलहरुले अवरोध गरेपछि अध्यादेश मार्फत ऐन ल्याउँदा समेत अदालतमा उजुरी दिएर रोक्न लगाएको भन्दै उनले अहिले नागरिकतामा लफडा भिकिएको बताए । उनले अव आफनो सरकार बनेको एक महिना भित्रै नागरिकता विद्ययेक पारित हुने ठोकुवा गरेका छन ।
स्थानिय चुनाव पछि एक लाख भन्दा बढिले एमालेमा प्रवेश गरेको उनको तर्क छ । केहि नेताले आज पनि दुईचारजना युवालाई उचालेर कालो झन्डा देखाउन लगायो उनले भने अव विरोध गर्नेहरु पनि दुई चारजना मात्र देख्दा खुसी लाग्छ । सो अवसरमा लोसपाका प्रमुख सचेत उमाशंकर अरगरिया, जसपा सांसद अमृता अग्रहरी, प्रदेशसभा सांसद डा. रिना यादव सहित चारहजारलाई एमाले प्रवेश गराइएको एमाले धनुषाले जनाएको छ ।