एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ : लोकतान्त्रिक समाजवादी पार्टीले नेकपा एमालेसहित अन्य दलहरूसँग चुनावी सहकार्य गर्न वार्ता समिति गठन गरेको छ । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रत्यक्षतर्फको सिटमा तालमेल गर्ने उद्देश्यले वार्ता गर्न समिति गठन गरिएको छ ।
समितिका सदस्यहरूमा नेताहरू शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल रहेका छन् । लोसपाले अब एमालेसँग चुनावी सहकार्य लागि औपचारिक रूपमा वार्ता अघि बढाउने भएको हो । अप्पन टेलिभिजनसँगको कुराकानीमा समितिका संयोजक तथा वरिष्ठ नेता राजेन्द्र महतोले अब औपचारिक रूपमा एमालेसहित अन्य विचार मिल्ने दलहरूसँग वार्ता सुरु गर्ने जानकारी दिनुभयो ।
महतो २०७४ सालमा धनुषा क्षेत्र नम्बर ३ का निर्वाचित हुनुभएको थियो । यसपटक पनि यही क्षेत्रबाट उम्मेदवारी दिने चर्चा चलिरहेको विषयमा नेता महतोले सम्भावना कायमै रहेको बताउनुभयो । वरिष्ठ नेता महतोले राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण नहुनुमा एमालेको संलग्नता र चुनावी तालमेल फरक कुरा रहेको दाबी गर्नुभयो । उहाँले मधेशको सवालमा सबै ठूला दलको सोच खराब नै रहेको पनि बताउनुभयो ।
कांग्रेस, एमाले र माओवादी जहिले पनि मधेशको विरोधमा काम गर्ने पार्टी रहेको पनि उहाँले आरोप लगाउनुभयो । यो उनीहरूको पुरानो चरित्र रहेको पनि उहाँको भनाइ थियो ।