एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २६ : जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले कार्यक्रमहरुमा आफै उपमेयर रहेको जनकपुरधाम उपमहानगरपालिकालाई पटक पटक जनकपुर उपमहानगरपालिका भनेको प्रति गौ संरक्षण मंच नेपालले विरोध गरेको छ ।
आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै मंचका अध्यक्ष जगदिश महासेठले गत शुक्रवार जनकपुरधामको जिरोमाइल स्थित नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन समुदघाटनका उपप्रमुख किशोरी साहले पटक पटक जनकपुरधामको सट्टा जनकपुर मात्र भनेकोमा नियोजित र अज्ञानता प्रदर्शन भएको आरोप लगाएको छ ।

उपप्रमुख साहले जनकपुर भनिरहँदा त्यही आफनो मन्तब्य दिएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने जनकपुरधाम भनेर सम्बोधन गरेको भन्दै मंचले उपप्रमुख साहलाई लाज लाग्नु पर्ने बताएको छ । मंचको पहलमा जनकपुरधाम उपमहानगरपालिकाकै निर्णय र संघिय सरकारको अनुमोदन भएर जनकपुरधाम हुने निर्णय भइसकेको अवस्थामा सम्बन्धित निकायकै नेतृत्वकर्ता जनप्रतिनिधीले यस्तो उच्चारण गर्नु दु:खद रहेको भन्दै मञ्चले नसचिए मुद्दा हाल्ने बताए ।
उनले जनकपुरधामका हरेक व्यक्ति, पसल र संस्थाहरुले बोल्दा लेख्दा जनकपुर नभएर जनकपुरधाम लेख्ने बोल्ने बानी बसाल्न आग्रह गरेका छन् । मंच गौ संरक्षणका साथै जनकपुरधाममा विभिन्न धार्मिक काममा क्रियाशिल रहने गरेको छ ।