एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २५ : जनकपुरधामको गंगासागर सहितका सरोबरहरुमा शनिवार बिहानै अत्याधिक भिडभाड लागेको छ । यो भिडभाड निरन्तर सोह्र दिन सम्म लाग्ने छ । हिन्दू परम्परा अनुसार शनिवार देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएकाले दिवंगत मातापिता सहित पुर्वजहरुको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने हिन्दु परम्परा रहेको छ ।
हिन्दू परम्परा अनुसार शनिवार देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने पतृपक्षमा आफ्ना दिवंगत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह« वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यो विधी सोह«श्राद्धको नामले परिचित छ ।
जानकारहरुको अनुसार यो पिृतकर्म हो ।
आश्विन महिनालाई पितृ पक्ष बनाइएको छ । शनिवार पुर्णिमाको दिन अर्पण गर्ने जल र गरिने तर्पण अगस्त मुनी अर्थात सवै मुनीका लागि हुन्छ भने पुर्णिमाको भोलीपल्ट अर्थात आइतवार देखि सुरु हुने विधी देवश्रृषि र पितृ तर्पण हो ।
जानकारहरुका अनुसार पितृ तर्पण गर्नेहरुलाई पितृदोष लाग्दैन । पृतिदोष लाग्दा थाहा नहुने तर स्मृद्वि, व्यापारमा बृद्वि, र सन्तानको शुस्वास्थ्य तथा शुसंस्कारको अवरोधक मानिन्छ । यो बहुत पुरान पौरानिक परम्परा हो । कर्म दुई प्रकारको देवकर्म तथा पिृतकर्म हुन्छ जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्ने पनि जानकारहरु बताउछन् ।
यो कर्म जेठो छोराले मात्र नभई सबै सन्तानले गर्नुपर्ने जानकारहरुको सुझाव छ । साथै चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा समेत हिन्दु संस्कारमा हुन्छ । बडादशैं र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।
महाभारत युद्धको करिब अन्तिम समयमा कृष्णले कर्णलाई उनको अन्तिम इच्छा बारे सोध्छन । कर्णले भन्छन, म कुमारी आमाको सन्तान भएकाले मेरो दाहसंस्कार पनि यस्तो कुमारी भूमिमा गरियोस जहाँ कुनै अपराध भएको नहोस । भनिन्छ, त्यस्तो भूमि भेट्न त्यतिबेलै पनि गाह्रो भएको थियो ।
मृत्यु पश्चात स्वर्गमा कर्णलाई खानामा सुन, हिरा, पैसा, मोती दिइयो । स्वर्गका राजा इन्द्रलाई उनले प्रश्न गरे, मलाई भोक लागेको छ सुन, हिरा, मोती, पैसा मैंले कसरी खानु? मलाई खाना किन दिइएको छैन? जबाफमा इन्द्रले भनें बाँचुन्जेल तिमीले मानिसहरुलाई सुन, हिरा, पैसा, मोती दान गर्यो कसैलाई पनि खाना दान गरेनौं । भोकाएका मानिस र पितृ भएका आफ्ना बंशजलाई भोजन दान गरेनौं त्यसैले तिमीले जे दियौ अहिले त्यही पायौ ।
पृथ्वीमा गएर १६ दिन बसी बंसज पितृलाई भोजन दान गर्ने सुझाब अनुरुप कर्णले १६ दिन सम्म पितृलाई संझिएर भोजन अर्पण गरे । पितृलाई अर्पण गरेपछि छाक टार्न गाह्रो भएका सर्बसारधारणलाई खाना खुवाए । सोही समय देखि पितृलाई संझिएर सोह्र श्राद्धको चलन सुरु भएको मानिन्छ । श्राद्धको दिन सकेसम्म बढि मानिसले खाना खाइदिए हुन्थ्यो भन्ने चाहना राखिन्छ । जीवन र मृत्यु दुबै अवस्थामा खाना र पानीको महत्व दर्शाउने सोह्र श्राद्ध आजबाट सुरु भएको छ ।
सोह्रश्राद्ध शुरु भएसँगै जनकपुधामको गंगासागर, काठमाण्डौं स्थित पशुपति क्षेत्र सहित देशको विभिन्न स्थानका धार्मिक महत्वको तालतलैया, नदी, सरोबर पोखरी आदीमा पनि सर्वसाधारणहरु दिवंगत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्ने गर्दछन् ।