एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ : जनकपुरधामको मिल्सएरियामा करिव ५६ वर्ष देखि निरन्तर मनाइदै आएको श्री श्री १०८ श्री ईन्द्र पुजा महोत्सव २०७९ को विहिवार समुदघाटन गरिएको छ । नेकपा एमालेकी पोलिटब्युरो सदस्य पुर्व मन्त्री जुली महतोले महोत्सवको विहिवार एक समारोहका बिच समुदघाटन गरेकी छिन् ।
पुजा समितिका अध्यक्ष समाजसेवी राम शंकर साहको अध्यक्षतामा भएको समारोहमा स्थानिय तथा नेताहरुले २०२३ साल देखि सुरु यति पुरानो पुजा महोत्सवको अहिले सम्म व्यवस्थित हुन नसक्नु र जग्गा तथा मन्दिर हुन नसक्नु दु:खद रहेको बताउदै यसका लागि अव पहल गरिदिन आग्रह गरेका थिए ।
नेतृ महतोले जनकपुरधामलाई अहिले सम्म ठग्ने काम मात्र भएको बताउदै एक पटक एमालेलाई बिश्वास गर्न आग्रह गरिन । उनले आफुले अवसर पाए र एमालेको सरकार बने मेला समितिको भवन, मन्दिर र मेलाका लागि जग्गाको समेत सुनिश्चितता हुने बताईन ।
महोत्सव १० दिन सम्म चल्ने छ । महोत्सवको समुदघाटन पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका सल्लाहकार मनोज कुमार साह क्रान्तिले करिव ५६ वर्ष पुरानो र निरन्तर मेला लाग्दै आएको जग्गामा अझै जालझेल रहेको बताउदै देशकै एकमात्र सबै भन्दा पुरानो ईन्द्रपुजा महोत्सवका लागि सो जग्गा व्यवस्थित गर्ने पक्रिया सुरु भएको बताए ।
जग्गा व्यवस्थापनमा अझै पनि केहि व्यक्तिहरु निजी लोभका कारण विभिन्न दावी गरिरहेको बताइएको छ । स्थानियहरुले त्यहाँ रहेको बिघघौं जग्गा मध्ये यस एतिहाँसिक धार्मिक कार्यका लागि रामसागर रामस्वरुप ट्रष्टलाई एक विघ्घा जग्गा महोत्सव, समिति र मन्दिरका लागि दान गरिदिन हुन आग्रह गरेका थिए । कार्यक्रममा समितिका उपाध्यक्ष किशोरी साह, महासचिव जगदिश महासेठ, सचिव मोहन साह र कोषाध्यक्ष मोती ठाकुर सहितको उपस्थिती थियो ।