एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ : सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्नुपर्ने मांग गर्दै सडकमा प्रदर्शन गर्ने युवाहरुको समुह बाक्लिदै गएको छ । उनीहरुले विहिवार जनकपुरधाममा प्रदर्शन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
हेर्नोस भिडियो रिपोर्ट
टिकटक समाजमा अश्लिलता बढाएको बताउदै युवाहरु संर्घष समिति नै बनाएर विभिन्न दबाब मुलक कार्यक्रमहरु गर्न थालेका छन् । विहिवार टिकट बन्द संर्घष समिति धनुषाको नेतृत्वमा निकालिएको विरोध रयाली जनकपुरधामको विभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रदर्शनकारी युवाहरु मुख्यमन्त्री कार्यालय पुगेर उनको सचिवालयमा ज्ञापन समेत बुझाएका छन् । प्रदर्शनकारीहरु टिकटकले समाजमा व्यापक अश्लिलता बढाएको भन्दै यस एप्सलाई नेपालमा तत्काल प्रतिबन्ध लगाउन मांग गरेका छन् ।
उनीहरु केहि दिन अघि धनुषा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जनकपुरधाम उपमहानगरपालिकामा समेत ज्ञापन पत्र बुझाएका थिए । टिकटकका कारण अश्लिलता सीमा पार गरेको, घर परिवारमा झगडा बढेको, युवाहरु अमूल्य समय बर्बाद गरिरहेको र शिक्षा बिग्रदै गएको, आत्महत्याको घटना बढिरहेको सहितका कारण देखाउदै उनीहरु टिकटक बन्द अभियान थालेका छन् ।

मनोरञ्जनका नाममा अश्लिल गीत तथा नृत्य बनाएर टिकटकमा राख्नेहरुको अकाउन्ट बन्द गराउन अभियानी युवाहरु समुह बनाएर त्यस्ता टिकटक आइडीहरु विरुद्व रिपोर्ट गर्न थालेका छन् । टिकटक चिनियाँ एप्स हो । यो एप्समा अश्लिल सामग्री अपलोड गर्न रोक लगाउने कुनै विधी नरहेकाले यस्को दुरुपयोग भइरहेको छ ।
