एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ : प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको ७८ औं जन्मोत्सवको अवसरमा ७८ जना श्रष्ठाहरु सम्मानित भएका छन् । जनकपुरधामको बेला स्थित बाबा गणिनाथ गोविन्द मन्दिरको प्राङ्गणमा आयोजित उहाँको ७८ औं जन्मोत्सवको अवसरमा आयोजित राजेश्वर नेपाली व्यक्तित्व तथा कृतित्व विषयक परिचर्चा समारोहमा साहित्य, पत्रकारिता, कलाकारिता सहित सृजनशिलताको विभिन्न विद्याका व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ ।
सो अवसरमा मधेश प्रदेश सहित देशका विभिन्न जिल्लाबाट आएका अनुभवी विभिन्न क्षेत्रका विज्ञ र अभियानीहरुले कविता, मन्तब्य र गितगानका माध्यमले पत्रकारिता र प्रजातन्त्रका जिवित ईतिहाँस समेत मानिएका वरिष्ठ पत्रकार नेपालीको जिवन, योगदान, भुमिका सहितको विषयमा प्रकाश पारेका थिए । वक्ताहरु राजेश्वर नेपाली निडर, निष्ठावान, दयालु, कर्तव्यनिष्ठ र साहासिक व्यक्तित्वको धनी व्यक्ति रहेको बताउदै उनको परिवारनै निडर रहेको बताएका थिए ।

प्रजातन्त्र र पत्रकारिताको विकासका विभिन्न कालखण्ड र घटना परिघटनाको तिथि मिति सहित कण्ठै गरेका नेपाली उमेरको ७८ वर्ष पार गरिरहँदा क्यान्सर रोगबाट पिडित रहेपनि कुनै पनि सक्रियता घटाएका छैनन । वक्ताहरुले नेपालका पहिलो राष्ट्रपती डा. रामवरण यादव र हाल मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रको साथी वरिष्ठ पत्रकार नेपालीलाई राज्यले बुझन नसकेकोमा दु:ख व्यक्त गरेका थिए । उनी आवद्व नेपाली कांग्रेसले पनि नेताहरुको चाप्लुसी नगरेकै कारण उनलाई पाखा लगाउने काम गरेको भएपनि नेपालीको समाजिक प्रतिष्ठानै सबै भन्दा ठुलो सम्मान रहेको बताए ।

नेपालीको जयेष्ठ सुपुत्र स्व. रवीन्द्र साहको नाँउमा स्थापित रवीन्द्र साह स्मृती प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, प्रदेश सांसद परमेश्वर साह, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महेश्वर राय, निति आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. भोगेन्द्र झा, कांग्रेस नेता गणेश तिवारी, जनकपुरधामका उपमेयर किशोरी साह, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदक अध्यक्ष शितल साह, मठिहानीका मेयर हरि मंडल, मधेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव र वरिष्ठ अधिवक्ता युगल किशोर लाल कर्ण सहितको उपस्थिती थियो ।

वरिष्ठ पत्रकार नेपालीका बारे पत्रकार एवं कलाकार साहित्यकार उपेन्द्र भगत नागवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार श्री नारायण साहले गरेको प्रतिष्ठानका अध्यक्ष एवं जनकपुरधाम वडा नं. २३ का वडा अध्यक्ष तथा नेपालीका सुपुत्र राघवेन्द्र साहले बताए ।