जनकपुरधाम, भदौ ७ : मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले वन जंगल अतिक्रमणको छानबिन गर्न गठित समितिको प्रतिवेदन बुधबार सार्वजनिक गर्ने भएको छ ।
जनकपुरधाममा मंगलबार प्रदर्शनमा उत्रिएका चुरे तथा वन जंगल संरक्षण अभियानीहरूलाई सम्बोधन गर्दै मन्त्री महतोले बुधबार छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिनुभएको हो । सिरहाको डिभिजन वन कार्यालयका प्रमुख सुवास दासले भ्रष्टाचार गरेको आरोप माथिको छानबिन र सिरहा चोहर्वाको मारुती सिमेन्ट उद्योगलाई ३ विघ्घा ३ कठ्ठा जग्गा अवैध तरिकाले दिएको घटनाको छानविनको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री महतोले जानकारी दिनुभयो ।
यसअघि उनीहरूले प्रतिवेदन सार्वजनिक गर्न र सिरहा डिभिजन वन कार्यालयका प्रमुख दास र मारुती सिमेन्टले हडपेको जमिन फिर्ताको माग गर्दै नाराबाजी गरेका थिए ।
अभियानीहरूसँग २०७८ भदौ ४ गते मधेश सरकारले सम्झौता गरेको थियो । समिति गठनका लागि सात सदस्यीय समिति बनाइएको थियो ।