एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ७ : मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले समृद्धिका लागि वन नामक परियोजनाको सफलताका लागि मधेश सरकार सबै किसिमको सहयोग गर्ने बताउनुभएको छ ।
जनकपुरधाममा मंगलबार भएको समृद्धिका लागि वन परियोजनासम्बन्धी अभिमुखिकरण गोष्ठीमा मन्त्री महतोले यो परियोजना मधेशको वातावरण संरक्षणको उद्देश्य लिएर ल्याइएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । गोष्ठीमा मधेश प्रदेश वन मन्त्रालयका सचिव विशाल घिमिरले परियोजना राम्रो भए पनि जनशक्तिलगायत कारणले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो ।
सन् २०२१ मा नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएर यो परियोजना लागू भएको हो । यो परियोजनाले वनको दिगो व्यवस्थापन, वनबाट हुने फाइदा वृद्धि गर्ने, वन नभएको पालिकामा वन विस्तार गर्ने, सार्वजनिक जग्गामा वन विस्तार गर्ने, हरितगृह ग्याँस उत्सर्जनलाई न्यूनीकरण गर्नेलगायत लक्ष्य लिएको छ । हरितगृह ग्याँस उत्सर्जनलाई न्यूनीकरणका लागि मधेशका २५ र लुम्बिनी प्रदेशका २५ पालिकाहरू छनौट गरिएको छ । मंगलबारको गोष्ठी नेपाल सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्र र मधेश उद्योग, पर्यटन तथा वन मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेका थिए।