एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ : हिन्दुहरुले भब्यताका साथ मनाउने भगवान कृष्णको जन्मोत्सव श्री कृष्णजन्माष्टमीको अवसरमा धनुषा सहित तराई मधेशका जिल्लाहरुमा भब्य मेलाको आयोजना गरिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको मिल्यएरियामा स्थानिय युवाहरुले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भब्यताका साथ श्री कृष्णजन्माष्टमीको अवसरमा मेलाको आयोजना गरेको छ ।
भब्य पण्डालको निर्माण गरि भगवान राधाकृष्ण सहित देवीदेवताको मुर्ती स्थापना गरि मेलाको आयोजना मिल्सएरियाका साथै जनकपुरधामको वडा नं. १९ बेङ्गाशिवपुरमा पनि भब्य रुपमा आयोजना गरिएको छ । धनुषाको रघुनाथपुर, तारापट्टी, कौचरी, जनकपुरधामको जिरोमाइल, भ्रमरपुराचौक सहितको सार्वजानिक स्थलका साथै निजी रुपमा समेत भाकल गरेकाहरु आ–आफनो घरमा भगवानको मुर्ती स्थापना गरि श्री कृष्णजन्माष्टमी भब्यताका साथ मनाइदै छ ।
साथै जनकपुरधाम स्थित श्री गोपाल सेवा समितको स्थाई रुपमा निर्माण गरिएको भगवान श्री कृष्णको मन्दिरमा समेत दर्शनालुहरुको भिडभाड लाग्ने गर्दछ । भाद्र कृष्णाष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको स्मरणमा भव्य एवं आकर्षक पण्डालको निर्माण गरी मेलाको व्यवस्थापन गरिन्छ ।
साथै जनकपुरधामको वडा नंं ७ जीरोमाईल, वडा नंं ८ को बाल्मिकीनगर, वडा नंं १३ को धत्ता टोल ज्ञान कूप विद्यालयको पछाडिपट्टि पनि भगवान् श्रीकृष्ण सहितका देवी देउताहरूको मूर्ति बनाएर विशेष पूजापाठको आयोजना गरिएको छ ।