एसपी रिपोर्टर
जनकपुरधाम,भदौ २ :
मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर भोगेन्द्र झाले सरकारले विगतमा गरेको त्रुटिका कारण मधेशमा जलवायु परिवर्तनको असर देखिएको बताउनुभएको छ ।
जनकपुरधाममा बिहीबार भएको प्रदेशस्तरीय पुनरुत्थानशिलता तथा जीविकोपार्जन नतिजा विश्लेषणसम्बन्धी अन्तक्रियामा आयोगका उपाध्यक्ष डाक्टर झाले यस्तो बताउनुभएको हो । उहाँले पूर्वदेखि पश्चिमसम्म रहेको चारकोसे झाडी र जंगल फडानी गरी राजमार्ग बनाउन् नै समग्र मधेशको जलवायु परिवर्तनको मुख्य कारण रहेको बताउनुभयो । डाक्टर झाले चुरे विनाशलगायत कारणले मधेश मरुभूमिकरणतर्फ गइरहेको पनि बताउनुभयो । कार्यक्रममा सहभागीहरूले मधेशमा जलवायु परिवर्तनको अवस्था, यसको असर, जिविकोपार्जनका क्षेत्रको पहिचानलगायत विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा जिविकोपार्जन पुनउत्थानशिलता विश्लेषण अध्ययन प्रदेशस्तरीय नतिजाको कार्यपत्र डाक्टर श्रीधर थापाले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, जलवायु परिवर्तन र जिविकोपार्जनको कार्यपत्र राष्ट्रिय योजना आयोगका महेश खरेलले प्रस्तुत गर्नुभएको थियो।