एसपी खबर
जनकपुरधाम, साउन २९:
चुरे तथा वन जंगल संरक्षण अभियानले तेश्रो चरणको आन्दोलन घोषणा गरेको छ । अभियानका संयोजक सुनिलकुमार यादवले आइतबार पत्रकार सम्मेलन गरी दुई चरणको आन्दोलनबाट संघीय र प्रदेश सरकारले मागको सुनुवाइ नगरेको भन्दै तेश्रो चरणको आन्दोलन घोषणा जानकारी दिनुभएको हो । आन्दालनका कार्यक्रमअनुसर भदौ १ गते मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना र ज्ञापनपत्र बुझाउने, भदौं २, ५, ६ र ७ गते आठवटै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने, भदौ ८ गते आठवटै जिल्लाको सदरमुकाममा तीन तहको सरकारविरुद्ध विरोध प्रदर्शन तथा कोणसभा गर्ने, भदौ ९ गते मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्रीको पुतला दहन गर्ने र कार्यालयमा ताला लगाउने अभियानले जनाएको छ । तेश्रो चरणको आन्दोलनबाट हुने कुनै पनि क्षतिको जिम्मेवार तीनवटै सरकार रहने पनि अभियानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । अभियानका संयोजक यादवले मधेश सरकारले बेटी पढाउ बेटी बचाउ भन्ने नारा लगाए पनि सुकुम्बासीका बेटीको संरक्षण गर्ने दायित्वबाट विमुख भएको आरोप लगाउनुभयो । वन जंगल संरक्षणसहित सुकुम्बासीका समस्या समाधानसम्बन्धी तीनबुँदे माग तत्काल सम्बोधन गर्न पनि उहाँले माग गर्नुभयो । यता, अभियानीहरूले आइतबार २६ औं दिनसम्म रिले अनशन जारी राखेका छन् । उनीहरूले चुरे वन जंगल संरक्षण र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको हक अधिकारका लागि आन्दोलन गर्दै आएका छन् । वर्षौंदेखि भूमिहीन रहेका आफूहरूका समस्या समाधानमा राज्यले चासो नदेखाएको पनि उनीहरूको गुनासो छ । सुकुम्बासीलाई जमिन वितरण गर्ने कार्यमा राज्यले विभेद गर्दै आएको पनि उनीहरूको आरोप छ । उनीहरूले भूमि अधिकारसँगै वन क्षेत्र अतिक्रमणलगायत विषयमा पनि आवाज उठाउँदै आएका छन् । सिरहाको डिभिजन वन कार्यालय प्रमुख सुवास दास भ्रष्टाचार गरेको आरोप लगाउँदै छानबिन गर्न र सिरहा चोहर्वाको मारुती सिमेन्ट उद्योगलाई ३ विघ्घा ३ कठ्ठा जग्गा अवैध तरिकाले दिएको घटना छानविन सहितका माग पनि अभियानले गर्दै आएको छ । मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसँग मिति २०७८ भदौ ४ गते सम्झौता गरेको थियो ।