एसपी रिपोर्टर
जनकपुरधाम, साउन २४ : जनकपुरधामको श्री जानकी मन्दिरमा उत्तराधिकारी महन्त विवाद बारे गुठी संस्थान कार्यालय जनकपुरधामले हाल भनिएका सहायक महन्त रामरोशन दास वैष्णव नै उतराधिकारी महन्त रहेको दाबी गरेको छ । रामरोशन दासको परिचय फर्जी रहेको दावी सहित दिनअघि जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । उजुरीमा मन्दिरमा अनियमितता गर्दै आएको पनि आरोप लगाइएको थियो ।
उनी बिरुद्ध रामनारायण दासले उजुरी दिएका थिए । गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले गुठी संस्थानले नै दासलाई जानकी मन्दिरको उत्तराधिकारी महन्तमा नियुक्त गरेको बताएका छन् । उनले भने ‘रामरोशनजी ले उत्तराधिकारी महन्तको फर्जी परिचय पत्र बनाएको भने आरोप गलत हो किनकी उनलाई २०७८ सालमै गुठी संस्थानको संचालक समितिको बैठकबाट निर्णय गरेर उत्तराधिकारी महन्तमा नियुक्त गरिएको छ ।’
गुठी संस्थानको संचालक समितिको २०७८ वैशाख १५ गते बसेको बैठकबाट पुजारी लगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ को दफा १० को उपदफा २ मा उत्तराधिकारी महन्त उनलाई तोकिएको हो र सोही निर्देशिकाको दफा ८ बमोजिम योग्य भएको देखिएकाले उक्त निर्देशिकाको दफा १० को उपदफा १ र २ अनुसार रामरोशनलाई उत्तराधिकारी महन्तमा नियुक्त गरिएको पत्रमा उल्लेख छ ।
मन्दिरको उत्तराधिकारी महन्त नियुक्त गर्ने अधिकार महन्तको हुन्छ, निर्देशिका बमोजिम महन्थले तोकेका ज्येष्ठ शिष्यलाई उतराधिकारी महन्थ नियुक्त गर्ने अधिकार गुठी संस्थानमा निहित रहेको छ । सोहि अनुरुप जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले केही वर्ष अगाडीदेखि नै रामरोशनलाई आफ्नो ज्येष्ठ शिष्यको रुपमा नियुक्त गरेको भनी परिचय गराउँदै आएका थिए । महन्त नै ज्येष्ठ चेलाको रुपमा नाता प्रमाणित गराएर दासलाई उत्तराधिकारी महन्त बनाई दिनका लागि गुठी संस्थानमा सिफारिश समेत गरेका थिए ।
मन्दिरको आर्थिक अनियमितता सहित मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार प्रमुख महन्तलाई मात्रै हुन्छ, रेग्मीले भने । लक्ष्मण मन्दिरको आर्थिक कारोबार सोही मन्दिरका पूजारी सीताशरण दास वैष्णवले हेर्दै आई रहेका छन् । जानकी मन्दिर र लक्ष्मण मन्दिरको विषय अलग अलग रहेकाले दूबै मन्दिरको आर्थिक कारोबार पनि अलग अलग हुँदै आईरहेको गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मीले बताए । उजुरी सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले सो उजुरीको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । अनुसन्धान जारी नै रहेकाले अहिले नै केहि भन्न सक्ने अवस्था नरहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिक्रिया दिन इनकार गरेको छ ।