एसपी रिपोर्टर
जनकपुरधाम, साउन २४ : मधेश प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले देशको एक तिहाई जनसंख्याको अधिकार, पहिचान र पहुँच सुनिश्चित नभए सम्म देश र प्रदेशको विकास सम्भव नरहेको बताएका छन् ।
२८ औं बिश्व आदीवासी जनजाती दिवसको अवसरमा नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनुषाले जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले देशमा मधेशी, आदीवासी जनजाती, मुस्लिम सहित समुदाय पिछडिएको नभई पछाडिएर राखेको समुदाय रहेको बताए ।
कार्यक्रममा बोल्दै मधेश सरकारका पुर्व राज्यमन्त्री समेत रहेका प्रदेश सांसद सुरेश कुमार मण्डलले आदीवासी जनजातीका ५९ विभिन्न जातजातीहरु देश र मधेशमा बहुसंख्यक रहेपनि प्रतिनिधित्व र पहिचान हुन नसकेको बताए । आदीवासी जनजातीका अगुवाहरुले तिनैतहको सरकार पछाडि परेका समुदायको उत्थानमा समन्वयकारी भुमिका निर्वाह गर्नसक्नु पर्ने बताए ।
महासंघ जिल्ला समन्वय परिषद धनुषाकी अध्यक्ष जमुना भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री साह, सांसद मण्डललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा महासंघ प्रदेश २ का अध्यक्ष मनोज सिंह दनुवार, अगुवा कमलेश मण्डल, राष्ट्रिय मानवअधिकार आयोग जनकपुरधामका अधिकृत मनमाया राणामगर, ईनशेक मधेश प्रदेशका अध्यक्ष राजु पासवान सहितकाले आ–आफनो मनतब्य राखेका थिए ।
बन्ने भयो महासंघको आफनै भवन
मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा नेपाल आदीवासी जनजाती महासंघको आफनै भवन जनकपुरधाममा बन्ने भएको छ । मंगलवार एक विशेष समारोहका बिच हिन्दु परम्परा र विधी अनुसार मधेश प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले भवनको शिलान्यास गरेका छन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा २५ लाख रुपैया भवनका लागि बिनियोजन गरेको महासंघ मधेश प्रदेशका अध्यक्ष मनोज सिंह दनुवारले बताए । महासंघले भवनमा कार्यालय, प्रशिक्षण र सभाहल सहित तिन तल्ले भवन निर्माण हुन लागेको जनाएको छ । देशको एक तिहाई जनसंख्या रहेको आदीवासी जनजातीको अधिकार, पहिचान र पहुँच सुनिश्चित हुन नसकेको भन्दै अगुवाहरुले भवनका लागि प्रदेश सकरारले गरेको सहयोगको सराहना गरेको छ ।
२८ औं बिश्व आदीवासी जनजाती दिवसको अवसर पारेर भवनको शिलान्यास गरिएको छ । सो अवसरमा प्रदेश सांसद सुरेश कुमार मण्डल, अगुवा कमलेश मण्डल, महासंघका पदाधिकारीहरु सहित आदीवासी जनजातीका अगुवाहरुको सहभागिता थियो ।