एसपी खबर
जनकपुरधाम, साउन २३:
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाले सामुदायिक विद्यालयका पाठ्यपुस्तक सात दिनभित्र उपलब्ध गराउन सरकारलाई अल्टिमेटम दिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना हुन लाग्दासमेत अधिकांश पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै महासंघले जनकपुरधामस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई अल्टिमेटम दिएको हो । यस अवधिमा सामुदायिक विद्यालयका कक्षा ४ देखि १२ सम्मका पाठ्यपुस्तक उपलब्ध नगराए चरणबद्ध आन्दोलनमा उत्रिने पनि महासंघले चेतावनी दिएको छ । महासंघ धनुषाका बिनाेद कुमार साह अध्यक्ष नेतृत्वको टोलीले लिमिटेडलाई ज्ञापनपत्र बुझाएको हो । शिक्षास्तर नै कमजोर रहेको मधेश प्रदेशका विद्यालयहरूमा पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरू दोहरो मारमा परेको महासंघका प्रतिनिधिहरूले बताएका छन् |
मधेश प्रदेशलगायत देशभरका विभिन्न जिल्लामा हालसम्म पनि अधिकांस पाठ्यपुस्तक उपलब्ध नहुँदा बालबालिकाको उज्वल र सुन्दर भविष्यमाथि खेलबाड भएको महासंघको ठहर छ । यसैबीच, महासंघ धनुषाले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष विनोद कुमार साह, निर्वतमान अध्यक्ष नितेश कुमार साह, उपाध्यक्ष प्रकाश धमला, कोषध्यक्ष श्रवण कुमार यादव, सदस्यमा जयप्रकाश यादव, मनोज गुप्ता लगायतको उपस्थिती रहेको थियो ।