जनकपुरधाम,साउन १८: मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले मधेशका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जनकपुरधामस्थित केशवधाम मन्दिर भवनको उद्घाटन कार्यक्रममा मन्त्री साहले प्रदेश सरकारले आफ्नो क्षमताअनुसार धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि काम गर्दै आएको बताउनुभएको हो । जनकपुरधाम वडा नम्बर ८ स्थित श्रीरासबिहारी मन्दिर परिसरमा स्थापित आमाको माया छात्रावास प्रयोजनका लागि निर्मित केशवधामको बुधबार उद्घाटन गरिएको हो। कार्यक्रममा उहाँले केशवधामको निर्माण भएपछि श्रीरासबिहारी मन्दिर क्षेत्रको शोभा बढेको पनि बताउनुभयो । कार्यक्रममा जनकपुरधामका मेयर मनोजकुमार साहले जनकपुरधामका बिहारकुण्ड, अग्निकुण्ड, रत्नसागरलगायत मठमन्दिर क्षेत्रको जीर्णोद्धारको काम अघि बढाइएको बताउनुभयो । उहाँले आईयूडीपी कार्यक्रमअन्तर्गत रत्नसागर पोखरीको सौन्दर्यीकरण कार्य छिट्टै सुरु हुन लागेको पनि जानकारी दिनुभयो । मेयर साहले ६ महिनाभित्र सौन्दर्यीकरणका लागि टेन्डर लाग्नेसमेत जानकारी दिनुभयो । कार्यक्रममा हिन्दू स्वयम्सेवक संघ नेपालका सहराष्ट्रिय संघचालक कल्याणकुमार तिमिल्सिनाले पछिल्लो समय हिन्दू धर्ममाथि आक्रमण हुन थालेको बताउनुभयो । उहाँले यसप्रति सचेत हुन पनि सबैसँग आग्रह गर्नुभयो । सहराष्ट्रिय संघचालक हिन्दू स्वयम्सेवक संघ, नेपाल ण्ज्ञज्ञठज्ञ तिमिल्सिनाले जनकपुरधामका धार्मिक पर्यटकीय क्षेत्रको संरक्षण तथा सम्बर्द्धन गरी प्रचार प्रसारमा सबैले भूमिका निर्वाह गर्नुपर्ने पनि बताउनुभएको थियो ।