एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ : जनता समाजवादी पार्टी जसपा नेपाल जनकपुरधामले उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई विभिन्न ११ बुँदे मांग सहित ज्ञापन पत्र बुझाएको छ । जसपा जनकपुरधामका अध्यक्ष बिष्णुदेव साहको अगुवाईमा गएको पार्टीको एक समुहले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा नयाँ नेतृत्वको चयन पछि जनताले गरेको अग्रगामी विकास शुसासन तथा व्यवस्थापनको अपेक्षामा कुठाराघात हुदै गएको ठहर गरिएको छ । चुनाव ताका लगाईएको नारा एवं जनता समक्ष गरिएको प्रतिवद्धता पुरा गर्नुको साटो नगर नेतृत्वकै गैर जिम्मेवारीपन सहितका गतिविधीहरुले नगरवासी थप पीडित हुँदै गएको जसपाको आरोप छ ।
जनकपुरधाम उपमहानगरपालिकाको अतिआवश्यक समस्याहरुको सम्बोधन अझै हुन नसक्दा नगरवासीका साथै जनकपुरधाम आउने धार्मिक पर्यटक तथा प्रदेशवासीहरुलाई सास्ती व्यहोर्न परेको उनीहरुको आरोप छ । यी समस्याहरुको समाधान अत्यावश्यक हुँदा ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको र प्रस्तुत मांगहरु समयमै सम्बोधन नभए जसपा नगर समिति चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।
ज्ञापन पत्र बुझदै मेयर साहले मांगहरु मध्ये अधिकांश मांग सम्बोधनको क्रममा रहेको र फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन सहितको कामहरु गर्न आफुहरु सक्रिय रहेको उनले जवाफ दिएका छन् । मेयर साहले उपमहानगरपालिकाले प्राथमिकताका साथ गर्न लागेको कामहरुको विषयमा पनि प्रकाश पारेका थिए । सो क्रममा जसपाका नेता, नेतृहरु, केहि वडाका वडा अध्यक्षहरु सहितको उपस्थिती थियो ।
यस्तो छ जसपाको मांगहरु :
१) फोहरमैलाको उचित व्यवस्थापन हुनु पर्ने ।
२) कर्मचारी व्यवस्थापनमा भइरहेको भेदभावको अन्त्य हुनु पर्ने कार्यरत कर्मचारीहरुलाई विना भेदभाव निरन्तरता दिनु पर्ने ।
(३) वर्षी देखी कार्यरत कर्मचारीलाई अवैधानिक तरिकाले निस्काशन गरिएका कर्मचारीहरु अबिलम्व पुर्नबहाली हुनुपर्ने
४) छाडा गाई बस्तुको उचित व्यवस्थापन हुनु पर्ने ।
५) उपमहानगरको विकासे योजनाहरु लगायत अन्य सबै कार्यहरु अनलाइन मार्फत सार्वजनिक हुनु पर्ने ।
६) कृषि तथा कृषकहरुको लागि दीर्घकालिन योजना ल्याउनु पर्ने ।
७) सुकम्वासीहरुको अविलम्ब उचित व्यवस्थापन गर्नु पर्ने ।
८) फुटफाट व्यवसायीलाई उचित व्यवस्थापन गरी मात्र स्थापनातरण गर्नु पर्ने ।
९) कपकहरुलाई मल खाद समयमा उपलब्ध गराउनु पर्ने
१०) ग्रामिण विधुतिकरण कृषी सिंचाई कृषी विधुतिकरण गर्नु पर्ने ।
११) सांस्कृतिक नगरको दिशामा अगाडी बढीसकेको अवस्थामा केशरिया रंग एवम स्थानिय (जनकपुरधाम गान) ले निरन्तरता पाउनुपर्ने ।