एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ : जनकपुरधाम वडा नं. ८ स्थित गुठिको भनिएको हाल विवादित करिव १० कठ्ठा जग्गामा अहिले सम्म छ जनाले दावी गरेको छ । वडा स्थित जनक हजारी विद्यापिठको छेउमै रहेको सो जग्गा विषयमा बुझदा वडा अध्यक्ष दिनेश प्रसाद सिंहले हाल सम्म जग्गा आफनो रहेको भन्दै छ जनाको दावी सहितको फाइल वडा कार्यालयमा आएको र अझै केहि व्यक्ति मौखिक रुपमा पनि जग्गा आफनो रहेको दावी गरिरहेको बताएका छन् ।
भित्रभित्रै नामसारीको प्रक्रियामा रहेको सो जग्गा शंकाष्पद पाइएपछि नापी कार्यालय धनुषाले गत साउन ४ गते दुईवटा सम्बन्धित कार्यालयलाई सो जग्गाको स्पष्ट विवरण बुझाउन पत्र समेत काटेको छ । नापीले मालपोत कार्यालय धनुषा र वडा कार्यालय जनकपुरधाम–८ लाई पत्र काटेको देखिन्छ । नापीले मालपोतलाई काटेको पत्रमा जनकपुरधाम वडा नं. ८ मा अवस्थित कित्ता नं. २७४ को ३ कठ्ठा १९ धुर र कित्ता नं. २७५ को ६ कठ्ठा २ धुर जग्गाको सक्कल टिप्पनी निर्णयको सक्कल फाइल, कित्ताको श्रेस्ता उतार समेत मगाएको छ ।
साथै वडा नंं. ८ को वडा कार्यालयलाई काटेको पत्रमा सो कित्ताको जग्गाहरुमा हाल कस्ले भोग चलन गरिरहेको छ स्पष्ट हुने गरि सर्जमिन फिल्ड मुचुल्का सहितको सिफारिस पठाउन भनिएको छ । एसपी खवरले मालपोत कार्यालयमा बुझन जाँदा सो जग्गाको एकिन विवरण निकाल्न एकजना कर्मचारी खटाइएको छ । कर्मचारीले सो जग्गाको फाइल एकदम पुरानो हुन सक्ने भन्दै खोज्न समय लाग्ने बताए ।
वडा नं. ८ का अध्यक्ष सिंहले अहिले सम्म छ जनाको दावी आएको र अझै केहि व्यक्तिले थप दावी गरिरहेकाले सबैको कागजात आएपछि छानविन हुने र मुचुल्का उठाइने बताए । उनले आफुलाई पनि आश्चर्य लागेको भन्दै तत्काल दावी गर्नेहरुको नाम खुलाउन भने चाहेन ।
यो पनि पढनोस