एसपी रिपोर्टर
जनकपुरधाम, साउन १३ : चुरे तथा वन जंगल संरक्षण अभियानहरूले शुक्रबार १० औँ दिन पनि अनिश्चितकालीन रिले अनशन जारी राखेका छन् । आफूहरूसँग पटक पटक सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले लगातार रिले अनशन जारी राखेका हुन् । उनीहरू विशेष गरी चुरे वन जंगल संरक्षण र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको हक अधिकारका लागि आन्दोलन गर्दै आएका छन् ।
विगत वर्षमा विभिन्न किसिमका आन्दोलन र सहमति भए पनि माग पूरा नभएको उनीहरूको गुनासो छ । शुक्रबार पनि विभिन्न ठाउँबाट जनकपुरधाममा भेला भएका सुकुम्बासीहरूले आफूहरूको समस्या समाधानमा राज्यले चासो नदेखाएको गुनासो गरेका छन् ।
गलत व्यक्तिलाई चुरे तथा वनजंगलका जमिन दिने काम भइरहेको भए पनि वास्तविक भूमिहीन सुकुम्बासीको माग सम्बोधन हुन नसकेको उनीहरूले बताएका छन् । सुकुम्बासीलाई जमिन वितरण गर्ने कार्यमा राज्यले विभेद गर्दै आएको पनि उनीहरूको आरोप छ । मधेशका दक्षिणी क्षेत्रका सुकुम्बारीलाई राज्यले बेवास्ता गर्दा पनि यहाँका नेताहरूले आवाज नउठाएको उनीहरूले गुनासो गरेका छन् ।
उनीहरूले भूमि अधिकारसँगै वन क्षेत्र अतिक्रमणलगायत विषयमा पनि आवाज उठाउँदै आएका छन् । सिरहाको डिभिजन वन कार्यालय प्रमुख सुवास दास भ्रष्टाचार गरेको आरोप लगाउँदै छानबिन गर्न र सिरहा चोहर्वाको मारुती सिमेन्ट उद्योगलाई ३ बिघ्घा ३ कठ्ठा जग्गा अवैध तरिकाले दिएको घटना छानविन सहितका माग पनि अभियानले गर्दै आएको छ ।
मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसँग मिति २०७८ भदौ ४ गते सम्झौता गरेको थियो । आफूहरुले राखेको माग पूरा नभए आगामि दिनमा आमरण अनशनमा बस्न बाध्य हुने यादवले चेतावनी दिएका छन् ।