एसपी रिपोर्टर
धनुषाधाम, साउन ७ : धनुषाको दोस्रो मुख्य धार्मिक पर्यटनको केन्द्र धनुषाधामका युवाहरु जागेका छन् । युवाहरु एक महाअभियान चलाउदै दैनिक स्थानिय एतिहाँसिक धनुष मन्दिर र धनुष सागरको सफाईमा जुटन थालेका छन् । एकै रंगको पोशाकमा दैनिक भइरहेको यस्ता सामुहिक क्रियाकलापले धनुषाधामको कायापलटको संकेत गरेका स्थानियहरु बताउछन् ।
धनुष सागर र धनुष मन्दिर सौन्दर्यकरण महाअभियानका युवाहरु अथक मेहनत गर्दै दैनिक विहान शारिरिक रुपमा र अन्य समयमा छलफल तथा विचार विमर्श गर्दै धनुषाधामको एतिहाँसिक महत्वको सम्पदा संरक्षण तर्फ केन्द्रित हुन थालेका छन् । अभियानमा देखिएको युवाहरुको जोशपुर्ण सहभागिताले आफु उत्साहित भएको अभियानका संयोजक पत्रकार विनय कुमार यादव बताउछन् ।
धनुषाधाममा प्रत्येक वर्षको माघ महिनामा हरेक आइतवार मकर मेला लाग्ने गर्दछ । लाखौंको दर्शनालु पर्यटक आउने सो मेलाले धनुषाधामको व्यापारी वर्ष भरि धान्न सक्ने आम्दानी हुने गरेको छ । साथै जनकपुरधाम जानकी मन्दिर दर्शन गर्न आउने भारतिय पर्यटकहरु समेत अव अनिवार्य धनुषाधाम आउन थालेका छन् ।
समुचित सरसफाई र सौन्दर्यकरण हुन सके पर्यटकलाई सजिलै तान्न सकिने स्थानिय व्यापारीहरुको भनाई छ । एक दिन विश्राम हुन सक्ने आधुनिक धर्मशाला, राम्रो होटल र लजका साथै स्थानिय बन क्षेत्रलाई पार्क वा चिडिया खानाको रुपमा विकास गर्न सकिए धनुषाधाम देशकै एक मुख्य पर्यटनको केन्द्र बन्न सक्ने छ । अभियानमा धनुषाका सिडिओ, एसपी सहितका प्रशासनिक निकायका प्रमुखहरु समेत सहभागि हुन थालेका छन भने विभिन्न पक्षले सहयोग समेत गर्न थालेका छन् ।