एसपी रिपोर्टर
जनकपुरधाम, साउन ४ : मधेश प्रदेशको राजधानी जनकपुरधामको एतिहाँसिक गंगासागर तलाउ सफाई गरिएर गंगाआरतीको थालनी भएसंगै यस क्षेत्रका पोखरी, सरोबर र तलाउहरुको सरसफाई अभियान विस्तारिदै छ । त्यसपछि महोतरीको मठिहानी र जलेश्वर, सिरहाका विभिन्न स्थान र धनुषाको परशुराम तलाउ सहित गाँउ गाँउमा यस्ता अभियान फैलिदै छ ।
यसै क्रममा धनुषाको धार्मिक एतिहाँसिक महत्वको धनुषाधाममा पनि यो अभियान थालिएको छ । धनुषाधाम स्थित धनुष बाबा मन्दिरका मन्दिर छेउकै धनुष सागर सरोवरको सफाई अभियानका रुपमा थालनी भएको छ । जनकपुरधामको गंगा सागर सफाई अभियानको नेतृत्व वरिष्ठ पत्रकार रामअशिष यादवले गरेका थिए भने धनुषाधामको धनुष सागर सफाई अभियानको नेतृत्व समेत पत्रकारले नै गरेको छ ।
स्थानिय रेडियो धनुषाधामका सञ्चालक तथा सक्रिय पत्रकार बिनय कुमार यादवको नेतृत्वमा धनुष मन्दिर र सागरको सफाई र वृहत सौन्दर्यकरण अभियान थालिएको छ । धनुषाधाममै अर्को सफाई अभियानमा पनि पत्रकारकै सक्रिय भुमिका छ । स्थानिय प्रमोद कुमार यादवको संयोजकत्वमा भइरहेको अभियानमा स्थानिय पत्रकार मुकेश कुमार ठाकुरको पनि अहम भुमिका र सक्रियता छ । उनीहरुको मनोवल बढाउन बृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष वरिष्ठ पत्रकार शितल साह धनुषाधाम पुगेर सफाई अभियान सफल भए सागरमा डुङ्गा उपलब्ध गराउने प्रतिवद्वता जाहेर गरेका छन् ।
सो धनुष सागरको आफनै पौरानिक विशेषता छ । सो सागरमा स्नान गरे मुसो रोग अर्थात अइल्हा रोगबाट मुक्ति पाइने जनबिश्वास रहिआएको छ । त्यसै गरि स्थानिय वाणगंगा नदीको पनि आफनै पौरानिक महत्व छ । भगवान श्री राम माता जानकी र भाई लक्ष्मण संग घुम्न आउँदा माता जानकीलाई पानी खान प्यास लागेपछि भगवान रामले वाणद्वारा गंगा माता उत्पन्न गराएपछि माता जानकी पानी पिउनु भएको वानगंगा संग जुडेको जनबिश्वास छ । भगवान लक्ष्मण सोहि गंगामा स्नान गरेकाले वानगंगालाई लक्ष्मण सागर समेत भनिन्छ ।
देशमा आमुल राजनितिक परिवर्तण भएपनि जनप्रतिनिधीहरु पैसा कमाउन बाहेक यस्ता धरोहरुको संरक्षण र सदुपयोग गर्न पछाडि परिरहँदा पत्रकारहरुको पहलमा भइरहेको यस्ता कामहरुलाई जनताले रुचाइरहेका छन् । महोतरीको मठिहानी नगरपालिकाको मेयरमा जितेका तत्कालिन नेपाल पत्रकार महासंघ महोतरीका अध्यक्ष हरि मण्डलले स्थानिय लक्ष्मीनारायण मन्दिर र सरोबरको सौन्दर्यकरण गरि त्यहाँ समेत पर्यटक आकर्षित गर्ने लक्ष्मीनारायण आरतीको थालनी गरिसकिएको छ । भ्रष्टाचार गरेर अत्याधिक कमाउन चाहने गलत तत्वहरु नियोजित रुपमा पत्रकारिता क्षेत्र समेत भ्रष्ट भएको आरोप लगाइरहेका बेला पत्रकारहरुको नेतृत्वमा समाजिक रुपान्तरणका कामहरु विस्तारिदै छ ।