एसपी रिपोर्टर
काठमाण्डौं, असार ३० : नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आम चुनावअघि पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई मिलाएर जान आग्रह गरेका छन् । बिहीबारको केन्द्रीय कार्य समिति बैठकमा उनले पाँच दलीय गठबन्धनसँगै पार्टीभित्र पनि गठबन्धन गरेर जान आग्रह गरे ।
उनले भने– ‘मैले सभापतिजीलाई भने १४ औं महाधिवेशनमा म पनि तपाईंको खिलाफमा उठेको थिएँ । शेखरजी हुनुहुन्थ्यो । प्रकाशमानजी हुनुहुन्थ्यो । रामचन्द्र, शशांक र सिटौलाजीले चुनाव लड्नु भएको थिएन । तर हामी सबैलाई थाहा छ काँग्रेसमा शक्तिकेन्द्र र उपकेन्द्र छन् । त्यसलाई मिलाएर लैजानुस् ।’ पार्टी सुदृढीकरणका लागि पार्टीभित्रका शक्ति केन्द्र र उपकेन्द्र मिलाउन आवश्यक भएको भन्दै त्यसको जिम्मेवारी सभापतिको काँधमा रहेको बताए ।
यस्तै उनले पार्टीका विभाग र भ्रातृ संस्थालाई तत्काल पूर्णता दिनुपर्नेमा जोड दिए । उनले स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिएर जित्नेहरूलाई पार्टीको पूर्ववत् जिम्मेवारी दिन पनि माग गरे । निधिले देउवालाई सरकार गठनको एक वर्षको उपलब्धिप्रति बधाई दिँदै आगामी निर्वाचनसम्म सरकार सञ्चालन गर्ने विषयमा साथ सहयोग रहने बताए ।