एसपी रिपोर्टर
जनकपुरधाम, असार २९ : जनता समाजवादी पार्टी पुन: फुटको संघारमा पुगेको छ । जसपाबाट यस अघि महन्थ ठाकुर सहितको टिम अलगिएको थियो भने अव डा.बाबुराम भट्टराई सहितको टिम पार्टीबाट अलग हुने निश्चित भएको छ । पुर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई बिरगंजमा आज देखि सुरु भएको पार्टीको केन्द्रिय समितिको बैठक बहिष्कार गर्नु र काठमाण्डौंमा अलगै बैठक गर्नुले जसपामा पुन: फुट निश्चित देखिएको छ ।
दुवै पक्ष समानान्तर रूपमा अलग अलग केन्द्रीय समितिको विस्तारित बैठक बसाएपछि अव जसपा फुटेको औपचारिकता मात्र बाकी रहेको चर्चा व्यापत छ । मंगलवार देखिनै काठमाण्डौंमा बैठक गरेर डा. भट्टराई पक्षले पार्टी अध्यक्ष यादव मधेश प्रदेश र कुनै जात विशेषको नेता मात्र हुन सक्ने आरोप लगाएको छ ।
भट्टराईले हिजो जडिबुटीमा सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आजबाट छलफल सुरु भएको छ । राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि हिजो ११ वटा समूह बनाइएको थियो । सो समूहमा छलफल भइसकेपछि आज ती समूहका लिडरले राजनीतिक प्रतिवेदनमाथि आआफ्नो धारणा राखिरहेका छन् । हालसम्म पाँचवटा समूहबाट राजनीतिक प्रतिवेदनबारे धारणा आइसकेको एक नेताले जानकारी दिए ।
आफ्नो कुरा राख्ने क्रममा अधिकांश नेताले जसपा नेपाल पुनर्गठन हुनुपर्नेमा जोड दिएका छन् । पार्टीलाई समावेशी बनाउनका लागि पुनर्गठन नै गर्नुपर्ने कुरामा जोड दिएको बैठकमा सहभागी जसपाका नेता दीपक महतोले बताए । जसपामा देखिएको अहिलेको विवाद समावेशी र नेतृत्वको भएको भन्दै उनले त्यसका लागि पार्टीलाई पुनर्गठन नगरे त्यहाँ काम गर्न गाह्रो हुने अधिकांशको धारणा रहेको जानकारी दिए । यादवले जसपा एकलौटी चलाउन खोजेका निष्कर्षका साथ पार्टी विभाजन गर्नुभन्दा पनि सोही पार्टीलाई पुनर्गठनका लागि प्रयास गर्नुपर्ने सुझाव दिएको नेता महतोले बताए ।