एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ : तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष वृषेशचन्द्र लालले विभेद, विकास तथा अवसरमा देखिएको भेदभावको एक मात्र निदान संघियता मार्फत स्वशासन रहेको बताएका छन् । यदपि अहिले देश र मधेशमा स्वशासनको अनुभूति हुन नसकेको उनले बताएका छन् । प्रदेशलाई कुन दिशामा आगाडि बढाउने हो ? र्वतमान प्रदेशको सरकारले अनुभूति गराउन नसकेको उनको तर्क छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीद्वारा जनकपुरधाममा आयोजित ‘स्वशासन का ५ वर्ष’ संगोष्ठी कार्यक्रममा उनले मधेशमा सपा–राजपाको सरकार अथवा अहिलेको सत्ता–गठबन्धनको सरकार दुबैमा कुनै अन्तर नदेखिएको आरोप लगाएका छन् । जनताको करको दुरुपयोग भइरहेको छ उनले भने, गाउँ–गाउँमा गेट, मूर्ति, मठ–मन्दीर, मस्जीदमा रकम विनियोजन गरिएको छ ।’
पूर्वाधार, उत्पादनमूलक अल्प वा दिर्घकालिन योजनामा बजेट विनियोजन हुनुपर्ने उनले बताए । अध्यक्ष लालले तमलोपा भ्रष्टाचार मुक्त, स्पष्ट दृष्टि, विधिको सर्वोच्चता सहितको स्वशासनको पक्षमा रहेको बताए । कार्यक्रममा सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश गिरिशचन्द्र लालले मधेशी विदेशी नभई अरु सबै भन्दा बढी भूमिको सन्तान भएको बताउँदै स्वशासनको सही अभ्यासको प्रयास पनि एक किसिमको संघर्ष रहेको बताए । मधेशले सधैं शान्तिपूर्ण संघर्ष गर्दै आएको बताउदै लालले यो अभियान जारी रहने बताए ।
सार्वजनिक खरीद प्रक्रियाका विज्ञ ई. सत्यनारायण साहले सुशासन नभई कुनै शासन सही दिशामा जान नसक्ने बताए । बजेटको ७०–८०% अंश सार्वजनिक खरीद र योजना परिचालनसंग सम्बन्धित हुन्छ तर त्यसमा व्यापक भ्रष्टाचार एकदमै बढेको र सुशासन हुन नसकेको उनले बताए । नेकपा समाजवादीका नेता संविधानसभा सदस्य शीतल झाले ’स्वशासन र संयुक्त वा सहशासन एक अर्कासंग जोडिएको र तिनै तहको सरकारमा यसबारे समन्वय नै नरहेको बताए ।
कार्यक्रमको मोडरेटर डा. विजयकुमार सिंहले संगोष्ठीको उद्देश्य देशमा संघीय संरचनापछि स्वशासनको अभ्यास सही दिशामा र जनआकांक्षा अनुरुप भयो कि भएन भन्ने कुरामा स्वतन्त्र विचारकहरूको मनतव्य जान्नु रहेको बताए ।