एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ : जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले नगरको भविष्य र विस्तारलाई व्यवस्थित गर्न आउटर रिंगरोड बन्ने बताएका छन् । उपमहानगरपालिकाको वडा नं. २३ बेलामा हाजिलोटन सम्पुर्ण परिवार बेलाद्वारा आयोजित ईद मिलन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बनाउन लागिएको रिंगरोड वडा नं. २३ लाई पनि छोएर जाने बताए । उनले वडामा नयाँ वसपार्क बन्न लागेकोमा शुभकामना पनि दिए ।
प्रमुख साहले बिन्ही देखि कुर्था रेल्वे स्टेशनको सडक समेत नयाँ रिंगरोडनै हुने बताए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष राघवेन्द्र साहले हिन्दु मुस्लिम बिचको सदभाव भडकाउने षडयन्त्र पटक पटक हुने गरेको भएपनि जनकपुरधामवासी र वडा नं. २३ वासी सदै त्यस षडयन्त्रलाई समाप्त गरेको बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले बेलाको एकदमै पुरानो मस्जिद सहित यहाँको निर्माणमा मुस्लिमका अगुवाहरु सहित आफना पुर्खाहरु मिलेर काम गरेको बताउदै जनकपुरधाममा भइरहेको पोखरी र जग्गा अतिक्रन हटाउन हिन्दु मुस्लिम सबै मिल्नुको विकल्प नरहेको बताएका छन् । कार्यक्रममा हिन्दु र मुस्लिम समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।