एसपी रिपोर्टर
जनकपुरधाम, असार २३ : नेपाल सरकारको शहरी विकास मन्त्री मेटमणी चौधरीले जनकपुरधाम विकासका लागि शहरी विकास मन्त्रालय प्रतिवद्व रहेको बताएका छन् । जनकपुरधाममा बन्न लागेको नयाँ बसपार्कको शिलान्यास गर्दै मन्त्री चौधरीले माता जानकीको जन्मस्थली भएकाले जनकपुरधामवासी हुनु शौभाग्यको कुरा भएकाले जनकपुरधाम बनाउन सबै एक हुनुपर्ने बताए ।
मन्त्री चौधरी बच्चामा आफुहरु माता जानकीको जन्मस्थली जनकपुरधाम भनेर पढेको र सुनेको भन्दै जनकपुरधामलाई पर्यटनको केन्द्र बनाउन सकिने बताए । उनले जनकपुरधामको मुख्य समस्या फोहर व्यवस्थापन रहेको भन्दै ल्याण्डफिल साइडका लागि जग्गा उपलब्ध गराइए मन्त्रालयले साइड निर्माण गर्न बजेट बिनियोजन गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री सत्रुधन महतोले मधेश प्रदेशको राजधानी पवित्र नगरि जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्र र गनतब्यका रुपमा विकास गर्न आवश्यक रहेकाले संघिय सरकारले सोहि अनुसारको प्याकेजमा योजना ल्याउनु पर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै जनकपुरधामका मेयर मनोज कुमार साह, श्री जानकी मन्दिरका सहायक महन्त रामरोशन दास र माँ जानकी अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले जनकपुरधाम विकासका लागि स्थानिय, प्रदेश र संघिय सरकार बिच समन्वय र सहकार्य तथा उदारता आवयश्कत रहेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह, जनकपुरधामका पुर्व मेयर लालकिशोर साह सहितको सहभागिता थियो । करिव चार बिघ्घा जमिनमा १५ महिनामा निर्माण कार्य सम्पन्न हुने गरि १० करोड २८ लाख ६६ हजार ४ सय ३९ मा बसपार्क निर्माण हुने सम्झौता भएको छ । त्यस अघि मन्त्री चौधरी श्री जानकी मन्दिरमा दर्शन तथा पुजापाठ गरेका थिए ।