एसपी रिपोर्टर
धनुषा, असार १७ : मधेश वर्षात मात्र होइन सुख्खा र जाडोयाममा पनि प्राकृतिक विपदको जोखिममा हुन्छ । वर्षातमा बाढी र डुबान, सुख्खामा आगलगी र जाडोमा सितलहरको कुनै न कुनै विपदले प्रभावित भइरहेकै हुन्छ । ति विपदको व्यवस्थापनका अनेकन सुझाव र उदाहरण सुरक्षा निकायले प्रस्तुत गरेका छन् ।
शुक्रवार मधेश प्रदेश सरकारको सहयोग र यहाँ स्थित नेपाली सेनाका विभिन्न गणहरुको आयोजना र तिनै सुरक्षा निकायको संयुक्त सहभागितामा प्राकृतिक विपद व्यवस्थापन तथा नागरिकको सुरक्षाका लागि विपद व्यवस्थापन अभ्यास ‘हातेमालो’ गरिएको छ । नेपाली सेनाको श्री नंं. २७ बाहिनी अड्डा सिरहा चोर्हवा व्यारेक र श्री नं. ९ बाहिनी अड्डा बर्दिवास सैनिक शिविर बर्दिवासको आयोजनामा सुरक्षाकर्मीहरु बाढीमा डुबेका नागरिकलाई डोरीले उद्दार गर्ने देखि नदी बिचमा फँसेका नागरिकलाई हेलिकप्टरले गरिने उद्दारको समेत अभ्यास प्रर्दशन गरेका छन् ।

धनुषा र सिरहाका सम्पुर्ण सम्बन्धित निकायहरुको प्रमुख समेतको सहभागितामा भएको अभ्यास पश्चात मुख्यमन्त्री लालबाबु राउतले मधेशमा हुने गरेको प्राकृतिक विपद व्यवस्थापनका लागि छुट्टै प्राधिकरण निर्माण हुने बताएका छन् । बाढी बाट हुन सक्ने जनधनको क्षति न्युनिकरणको लागि तयारी अवस्थामा बस्न पनि उनले सम्बन्धित सबै निकायहरुलाई निर्देशन दिएका छन् ।

सिरहाको करजन्हा नगरपालिकाको बन्दिपुर स्थित कमला नदीमा आयोजित प्रदेश स्तरीय विपद व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन गरेका मुख्यमन्त्री राउतले सुरक्षा निकायहरुले विपद प्रतिकार्यका लागि गरेको तयारी उत्तम रहेको भन्दै सो निर्देशन दिएका छन् । प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मधेश प्रदेशमा विपद न्युनिकरणको लागी तीनै तहका सरकारहरु बीच समन्वय र सहकार्यका साथै संयुक्त संयन्त्र निर्माण हुनुपर्नेमा मुख्यमन्त्री राउतको जोड थियो ।

नदीको उत्खनन र चुरे दोहनका कारण तराई मधेसका जिल्लाहरु विपद्को उच्च जोखिममा रहेको उनले बताए । कमला नदीबाट प्रभावित हुने नदी संग टाँसिएका सिरहा र धनुषाका पालिका प्रमुखहरुले स्थानिय तह एक्लैले नसक्ने भन्दै विपद व्यवस्थापनका लागि प्रदेश र संघ सरकारको सहयोग नभई नहुने सबैला नगरपालिका प्रमुख कारीराम यादव र कमला नगरपालिका प्रमुख विशेश्वर यादवले बताए ।

कार्यक्रममा नेपाली सेनाका नं. २७ बाहिनीका बाहिनी पति भरत चन्द्र गुरुङ्ग, गृह तथा संचार मन्त्री भरत प्रसाद साह लगायत, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखहरु, सुरक्षा निकायका प्रदेश स्थित प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।



