एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ : मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले विभिन्न पाँच बुँदाको माग गर्दै मन्त्रालयमा आज देखि धर्नामा बसेका छन् । साथै किसानहरूले लेखा तथा खाद्य सुरक्षा महाशाखामा तालाबन्दी गरेका छन् ।
किसानहरूले अदालतको आदेश अनुसार शितभण्डार निर्माणको रकम भुक्तानी हुनु पर्ने, किसानलाई समयमा पर्याप्त मल, खाद्य, बीउ विजन उपलब्ध गराउनु पर्ने, मन्त्रालयको अनुदान सेवामा , सुविधा र विभिन्न योजनाहरू एकरूपता गरी किसानहरूको हक हित सुनिश्चितता हुनु पर्ने, शितभण्डारको बाँकी काम गर्नका लागि आदेश हुनु पर्ने र प्राकृतिक तथा विभिन्न कारणले विभिन्न बालीहरूमा भएको क्षतिको क्षतिपूर्ति हुनु पर्ने माग सहित धर्नामा बसेका छन् ।
जनता समाजवादी पार्टी नेपालका प्रदेश उपाध्यक्ष शेषनारायण यादवको अगुवाइमा धनुषा र सर्लाही जिल्लाका किसानहरू धर्नामा बसेका छन् । आफूहरूले राखेको माग पुरा नभएको खण्डमा कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने पनि धर्नामा बस्नु भएका अगुवा किसानहरूले बताउनु भएको छ । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नंं ३ मा जनहित कृषक समूहका किसानहरूको चिस्यान केन्द्रमा करिब अढाई करोडको लगानी गरेको तीन वर्ष हुँदा पनि भुक्तानी नभएपछि निक्कै समस्यामा परेको सो संस्थाका अध्यक्ष ललित नारायण यादवले जानकारी दिनु भयो ।
यसै बीच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले फाइल तथा अदालतको आदेशको अध्ययन गरिरहेको र नियमावदी अनुसार सबै प्रक्रिया पुरा गरेर भुक्तानी दिने बताउनु भयो । उनले कसैले चाहेकै समयमा भुक्तानी गर्न नसक्दा यस्ता समस्या हुनु दु:खद रहेको बताउदै किसानको लगानी डुबन नहुनेमा आफु सचेत रहेको बताइन ।
जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश अध्यक्ष समेत रहेका मन्त्रालयका मन्त्री विजय कुमार यादवको नेतृत्वको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा जसपाकै मधेश प्रदेश उपाध्यक्ष यादवको नेतृत्वमा विरोध तालाबन्दी गरिएको छ ।