एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ : धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पर्ने बरमझियामा अवस्थित माध्यमिक विद्यालय बरमझियाका प्रधानाध्यापकले राजीनामा गरि सकेकी शिक्षिकालाई पुन विद्यालयमा हाजिरी गराएको भन्दै स्थानीयबासीहरुले आज बिद्यालयमा तालाबन्दी गरेका छन् । प्रअ राजदेव यादव आर्थिक प्रलोभनमा परि स्वेच्छीक राजीनामा दिएकी शिक्षिका रेखा यादवलाई पुन: हाजिरी गराइ कामकाजमा लगाएपछि त्यसको विरुद्धमा स्थानीयबासी आन्दोलित भएको हो ।
स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा उम्मेदवार बन्न शिक्षिका यादवले बैसाख ८ गते राजीनामा दिएकी थिइन् । तर उनलाई पुन: हाजरी गराईपछि विद्यालयमा प्रत्यक्ष राजनीतिको स्पष्ट उदाहरण भएको र पठनपाठनमा असर परेको स्थानीयबासीहरुको आरोप छ । विद्यालयमा शिक्षिकको अभाव, भएका शिक्षकहरु पढाउनु भन्दा खुल्ला राजनितिक गरिरहेका कारण विद्यालयको शैक्षिक अवस्था धरासायी हुदै गएको वडा अध्यक्ष नन्दकिशोर यादवले बताए ।
अपुग शिक्षक र विभिन्न राजनीतिक उथलपुथलको कारण विद्यालयमा पुर्ण कक्षा संचलान हुन नसकेको विद्यार्थीहरुको गुनासो छ । शिक्षिका यादव प्रा.वि. राहत तृतीय श्रेणी पदमा कार्यरत रहेकी थिइन । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा शिक्षिका रेखा यादवले विद्यालयको प्रधानाध्यापकलाई सम्वोधन गर्दै मिति ०७९ बैसाख ८ गते घरायसी कारण देखाइ राजीनामा दिईन र उपप्रमुखमा उम्मेदवार बनिन । राजिनामा पत्रमा प्रधानाध्यापक राजदेव यादवले तोक लगाइएको अवस्थामा मिति २०७९ बैसाख ८ गते नै २१ नं. मा दर्ता समेत भएको देखिन्छ ।
गत बैसाख ९ गते देखि लागू हुने गरि प्र.अ. राजदेव यादवले राजिनामा स्वीकृत गरिएको र मिति ०७९ बैसाख ९ गते पं.सं. २०७८/०७९ च. नं. ६२ को पत्र शिक्षिका यादवको नाममा पठाएको पनि देखिन्छ । उक्त पत्रको वोर्धाथमा जिल्ला शिक्षा विकास समन्वय इकाई धनुषा र गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार उल्लेख गरिएको छ । ती सक्कल राजिनामा पत्र र सक्कल स्वीकृत गरिएको पत्र र सक्कल दर्ता चलानी किताब समेत लुकाएर राखेको र रेखा यादवलाइ पुन: विद्यालयमा हाजिरी गराइ कामकाजमा लगाइएकोले विद्यार्थी तथा स्थानीयबासी केही दिन देखि आन्दोलित भएका छन् ।
वडा कार्यालयले ०७९ असार २ गते नागरिकको गुनासो तथा समस्या पहिचानको लागि राखिएको बैठकबाट राजीनामा गरिसकेकी शिक्षिका रेखा यादवलाई प्र.अ. राजदेव यादवले पुन हाजिरी गराइ कामकाजमा लगाएको जनगुनासो प्राप्त भएको आधारमा शिक्षिका यादवको विषयमा आवश्यक छानवीन गरि कारवाहीको लागि नगरपालिकाको कार्यालयमा सिफारिस पठाए पनि हालसम्म मेयर जितनारायण यादव, उपमेयर तुल्सा पाण्डे पटेल र प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादवले कुनै चासो नराखेको वडा अध्यक्ष नन्दकिशोर यादवले गुनासो गरे ।
शिक्षा जस्तो संवेदनशिल विषयमा पनि जिल्ला शिक्षा विकास समन्वय इकाइ धनुषा र नगरपालिकाको कार्यालयले कुनै प्रकारको प्रतिक्रिया नजनाउनु सबैको मिलोमतोको शंकेत रहेको अभिभावकहरुको दावी छ । शिक्षाको मन्दिर भनिने विद्यालयमा राजनितिक पावरको आधारमा चाहेको बेला राजिनामा र पुन: नियुक्तीले विद्यालयमा खडो हस्तक्षेप स्पष्ट भएको हो ।