पुरन रौनियार
जनकपुरधाम, असार १३ : नेकपा एसका मन्त्रीहरु फेरबदल गरि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद पुर्नगठन गरे संगै पाँच दलिय गठबन्धन कायम रहने अवस्थाको सृजना भएको छ । अव लोसपा यस पाँच दलिय गठबन्धनमा अटाउँछ कि एमाले संगको गठबन्धनमा जान्छ ? भन्ने कुराले धनुषाको संघिय निर्वाचनको रुप रेखा कोर्ने छ ।
धनुषा क्षेत्र नं. ३
धनुषाको सवै भन्दा बढि चर्चामा रहने क्षेत्र हो नं. ३ । मधेशको राजधानी जनकपुरधामको अधिकांश वडा समेत रहेको यस क्षेत्रमा हेबीवैट प्रतिस्पर्धा हुने गरेका यस क्षेत्रमा राष्ट्रिय चर्चा र चासोको निर्वाचन हुन्छ । पाँच दलिय गठबन्धन कायम रहे गठबन्धनबाट कांग्रेसका विमलेन्द्र निधी निश्चित उम्मेदवार हुनेछ तर लोसपा समेत छ दलिय गठबन्धन भए अहिले जितेका लोसपा नेता राजेन्द्र महतोको समेत यहाँ दावी हुनेछ र गठबन्धनमा तानातानको स्थिती सृजना हुनेछ ।

तर यदि लोसपा एमाले संगको गठबन्धनमा गए निधी विरुद्व राजेन्द्र महतो प्रतिस्पर्धाको पुन: वातावरण बन्ने छ । हुनत एमाले नेतृ जुली महतोको त्यतीकै चर्चा छ तर लोसपा एमाले संगको गठबन्धनमा आए ओलीको सहमती र राजेन्द्र महतोको इच्छाले नै यस क्षेत्रमा महतो कि जुली भन्ने कुराको निर्कयौल लाग्ने छ । त्यस अवस्थामा महतोले चाहे उनी नै उम्मेदवार हुने सम्भावना प्रवल छ ।
स्थानिय निर्वाचनमा गठबन्धनमा भएको धोकाले जसपा भने यहाँ कांग्रेस प्रति आक्रोसित रहेकाले निर्वाचनको परिणाम रोचक हुन सक्ने आंकलन गरिएको छ । यद्यपि यहाँ रविलामिछाने सहितका वैकल्पिक समुह एक राम्रा्े स्वतन्त्र उम्मेदवारको पनि खोजि गरिरहेको बुझिएको छ । यस्तो उम्मेदवार आए सानादलहरुले उनलाई सहयोग गर्ने छ र त्यसले पनि यहाँको चुनावी परिणामलाई प्रभावित गर्ने छ । एता जसपाबाट पनि जितेन्द्र यादवको दावी छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव र बुद्विजिवी संगठनका अध्यक्ष समेत रहेका यादव कांग्रेसको १४ हजार र जसपाको १३ हजार मत रहेकाले आफु पनि तिन नम्वरबाटै उम्मेदवार हुने बताए ।
धनुषा क्षेत्र नं. १
यहाँ हाल गठबन्धनकारी दल माओवादी केन्द्रले जितेको यस क्षेत्रमा गठबन्धनबाट पुन: माओवादीका मातृका प्रसाद यादव निश्चित उम्मेदवार देखिएका छन् । यद्यपि कांग्रेस र यादवको सम्बन्ध भने यस क्षेत्रमा कहिल्यै राम्रो रहेन । स्थानिय निर्वाचनमा कांग्रेस र जसपाको गठबन्धन भएको यादवको गृहनगर सबैला नगरपालिकामा माओवादी एक्लै चुनाव जितेको छ भने गणेशमान चारनाथ, कमला, धनुषाधाम र हँसपुरमा कांग्रेसले जितेको छ ।

कांग्रेस एक्लै पनि जित्ने सक्ने सम्भावना बोकेको यस क्षेत्रमा कांग्रेस गठबन्धनमा गए कांग्रेसजनले यादवलाई कति स्वीकार गर्छ भन्ने कुरामा यस क्षेत्रको निर्वाचन केन्द्रित रहने छ । यहाँ गठबन्धनको उम्मेदवारसंग एमालेको प्रतिस्पर्धा निश्चित छ । एमालेले यादव विरुद्व किशोरी साह कमल वा सविता यादव र रामचन्द्र मण्डलबाट एकलाई उम्मेदवार बनाउने चर्चा छ । तर यदि धनुषाको क्षेत्र नं. ३ मा राजेन्द्र महतो एमाले–लोसपा गठबन्धनको उम्मेदवार भए यस क्षेत्रमा जुली महतोको पनि आगमण हुने चर्चा व्याप्त छ । गठबन्धन र एमालेको प्रतिस्पर्धा हुने यो क्षेत्रमा पनि रोचक प्रतिस्पर्धा निश्चित छ । यादव विरुद्व कमल वा जुली नै उम्मेदवार हुने सम्भावना प्रवल छ ।
धनुषा क्षेत्र नं. २
यस क्षेत्रमा जसपाबाट हाल जितेका उमाशंकर अरगरिया पार्टी परिवर्तण गरि लोसपामा छन् । जसपाले जितेको यस क्षेत्रमा पुन: गठबन्धनबाट जसपाले नै उम्मेदवारी दिने अवसर पाए जसपाको उम्मेदवार बलराम महतो हुनेछ । अरगरिया पार्टी छोडेकाले जसपाले महतोलाई यहाँ उम्मेदवार बनाउने गरि पार्टीमा भित्रयाएका छन् । अरगरिया भने एमाले–लोसपा गठबन्धनको उम्मेदवार हुने निश्चित छ ।

कांग्रेसका रामकृष्ण यादव, दिनेश यादव प्रसैला, नेकपा एसका रामचन्द्र झा र माओवादीका श्रवण बरबरिया जस्ता चतुर नेताहरुको यो क्षेत्रमा राजनितिका नयाँ चेहरा अरगरिया र महतो पुन: उम्मेदवार हुने भएपछि ति नेताहरुको भुमिका, सहयोग र समर्थनले नै यस क्षेत्रको भविष्य निर्धारण हुने बतान्छ । यद्यपि झा पनि यस क्षेत्रबाट लड्नकै लागि नेकपा एसमा गएको हल्ला छ । यो क्षेत्रमा भने जितेको हिसावले जसपाको मुख्य दावी रहने छ र यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव समेतको आगमण हुन सक्ने चर्चा पनि नचलेको भने होइन ।
धनुषा क्षेत्र नं. ४
यो क्षेत्रमा अप्रत्यासित केहि नभए कांग्रेसका सह महामन्त्री महेन्द्र यादव र एमालेका सचिव रघुविर महासेठ बिचको प्रतिस्पर्धा निश्चित छ । यादव गठबन्धनको र महासेठ गठबन्धन विरुद्वको गठबन्धनको उम्मेदवार हुनेछ । यद्यपि कांग्रेस र जसपा भित्रको किचलो र कांग्रेस तथा एमाले संग पिडित नेकपा एस र माओवादीको समिकरण र रणनितिले यस क्षेत्रको नतिजालाई प्रभावित गर्ने छ ।

यादव र महासेठको राम्रो पकड रहेको यस क्षेत्रमा साना दलहरुको इमान्दारिताले नतिजालाई सार्थक बनाउने छ । यद्यपि गठबन्धन कति सफल हुन्छ भन्ने कुरामा पनि यस क्षेत्रको नतिजा भर पर्ने छ । क्षिरेश्वरनाथ बाहेक अधिकांश पालिका जितेको कांग्रेस यहाँ पनि एक्लै चुनाव जित्ने सक्ने स्थितीमा रहेको कांग्रेसीहरुको दावी र भनाई छ ।
जिल्लामै कांग्रेस बलियो
मधेशीदलहरुमा भएको विभाजन, एमालेको फुट तथा जनमत र राप्रपाको बढदो प्रभावका कारण कांग्रेस एक्लै पनि धनुषाको चारवटै क्षेत्रमा चुनाव जित्ने स्थितीमा रहेको बताइन्छ । जिल्लाका १८ मध्ये १२ पालिका जितको कांग्रेस एक्ला एक्लै पनि चुनाव जित्ने क्षमतामा रहेपनि कांग्रेस सभापति देउवाको गठबन्धन मोहले कांग्रेस त्यो अवसरबाट बञ्चित हुने देखिन्छ ।
एमाले र लोसपाको गठबन्धनमा जनमत र राप्रपा नेपाल पनि मिसिने चर्चा रहेकाले उनीहरुलाई धनुषामा कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि एमालेका लागि चुनौतीको विषय हुनेछ भने पाँच दलिय गठबन्धनमा टिकट पाउनेको जित र नपाउनेको असन्तुष्टि गठबन्धनका लागि चुनौतीको विषय हुनेछ । साथै प्रदेश सांसदमा हुने भागबण्डा र उम्मेदवार छनौटले पनि दुवै गठबन्धनको भविष्य र सफलतालाई प्रभाव पार्ने छ ।
कथनकदाचित गठबन्धन नभएको खण्डामा धनुषाको एकमा आनन्द प्रसाद ढुङ्गाना, दिपक कार्की दुईमा यादव, बरबरिया र झा र तिन तथा चारमा जसपाको पनि उम्मेदवार थपिने छ र मधेशी दलहरु बिच गठन्धनको पनि धेरै सम्भावना भई उम्मेदवारहरुको बृद्वि हुने छ । स्थानिय तहको मत परिणामको आधारमा पाँच दलिय गठबन्धन मजबुत देखिएपनि एमालेको प्रतिस्पर्धी मत र गठबन्धन भित्रको बिचलनले दुइ गठबन्धनको भिडन्तमा धनुषाको परिणाम जे पनि हुन सक्ने सम्भावना छ ।