एसपी रिपोर्टर
जनकपुरधाम, असार २ : मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले निर्वाचनमा हुने गरेको भयानक खर्चको अन्त्यका लागि वर्तमान निर्वाचन प्रणालीको विकल्प आवयश्क रहेको बताएका छन् । जनकपुरधाममा मानव विकास केन्द्र नामक संस्थाको चौथो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले निर्वाचनमा अत्याधिक खर्च हुने गरेको जस्ले भ्रष्टाचार समेत मौलाएकाले निर्वाचन प्रणाली र सुधारका विषयमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
मन्त्री साहले राज्यको चौथो अंग पत्रकारिताले युवमा रहेको विकृती उजागर गरि युवाको विकासका लागि आफनो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताएका छन् । समाजमा रहेको विभेद, कुरितीका साथै अपहेलित वर्गको आवाज बुलन्द गर्ने सञ्चार जगतको विकासका लागि समेत प्रदेश सरकार अग्रसर रहेको उनको भनाई थियो । कार्यक्रममा जसपा नेता तथा प्रदेश सांसद रामअशिष यादवले ज्ञानभुमि जनकपुरधामलाई पुन: शिक्षामुखि बनाउन सवै लाग्नु पर्ने बताए ।
जनकपुरधामका पुर्व मेयर लालकिशोर साहले युवालाई प्रशिक्षित गरि समाजमा सदुपयोग गर्न संघसंस्थाहरु लाग्नु पर्ने बताए । कार्यक्रममा संस्थाले प्रत्येक वार्षिकोत्सवमा प्रदान गर्ने ५१ हजार राशीको स्व. उमेशचन्द्र झा श्रमजिवी पत्रकारिता पुरस्कार पत्रकार घनश्याम मिश्रलाई प्रदान गरिएको छ भने समाजसेवी पवन सिंहानियालाई सम्मान गरिएको छ ।
कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, मोनाष्टिक स्कुलका सञ्चालक डा. सोनु साह, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्र गायत्री, केन्द्रका कार्यकारी निर्देशक कुन्दन झाका साथै उनका पिता एंव पुर्व सचिव कौशल किशोर झा सहितको उपस्थिती थियो ।