एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३१ : जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बैष्णवले सरकारी निकाय श्री जानकी मन्दिरलाई समेत भ्रष्टाचारको आखाडा बनाएको भन्दै दु:ख व्यक्त गरेका छन् । मंगलवार जनकपुरधामका पत्रकारहरुलाई बोलाएर महन्थ दासले बिश्व सम्पदा सुचिमा जानु पर्ने चर्चामा रहेको मन्दिरमा बिना परामर्श अनावश्यक आधुनिक विकास गरेर मौलिकता खोस्ने काम भइरहेको जस्ले बिश्व सम्पदा सुचिमा जाने पक्रियामा समेत असर पर्ने आरोप लगाएका छन् ।
उनले प्रदेश सरकार सहितका निकाय जानकी मन्दिरलाई भ्रष्टाचार गर्ने थलो बनाएको आरोप लगाएका छन् । मधेश सरकारको मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत भएको जानकी मन्दिर सौन्दर्यकरण र वृहत्तर क्षेत्र विकास परिषदबाट मन्दिरमा जडान भएको लाइटवत्तीमा भ्रष्टाचार भएको उनको तर्क छ । ्
मन्दिर सौन्दर्यकरणमा मेधश सरकारले टाइल्स मार्वल, मर्मत लगायतको सौन्दर्यकरणका लागि ७ करोड २० लाख छुट्याएको थियो । सौन्दर्यकरणको काम अन्तिम चरणमा छ । महन्थ दासले प्रदेश सरकारबाट जडान भएको टाइल्स मार्वल थुप्रै ठाउँमा फुटिसकेको र फुट्ने क्रम जारी रहेको बताउँदै कमसल सामग्री प्रयोग गरेर भ्रष्टाचार भएको आरोप लगाए ।
यस्तै गत आर्थिक वर्षमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले ११ करोड रुपैयाँको लागतमा मन्दिरलाई साँझ आकर्षक देखिने लाइट जडान गरेको थियो । सो लाइट दुई महिना पनि नबलेको महन्थ दासको गुनासो छ । ‘जानकी मन्दिरको नाममा लुट्ने काम ठीक होइन वृहत्तरले ११ करोडमा जडान गरेको विजुली लाइट मिस्त्रीका अनुसार १ डेढ महिनामै अधिकांश बत्ती खराब भइसकेको छ । ठीक गर्न पटक पटक आग्रह गर्दा समेत वृहत्तरबाट मिस्त्री नआएको उनको गुनासो छ ।
जानकी मन्दिरसँग कुनै समन्वय र छलफल नै नगरी विभिन्न निकाय यहाँ आएर सरकारी रकमको दुरुपयोग गरिरहेको उनले आरोप लगाए । मनपरी हुँदा मन्दिरको पुरातत्वमा असर पर्ने गरी कमसल काम भइरहेको उनले बताए । उनले मन्दिरलाई ट्रष्टमा लैजादा आफुलाई आपती नहुने बताउदै यद्यपि पुजा, विधी र सम्पुर्ण धार्मिक गतिविधी परम्परागत रुपमा हुने ट्रष्ट मात्र उत्तम हुने बताए ।
विद्युत प्राधिकरणलाई मन्दिरले ७८ करिव ७८ लाख महशुल तिर्न वाँकी रहेको महन्थ दासले सुनाए । भेटी, प्रसाद, विवाह मण्डप सहितको टिकटको पैसा के हुन्छ ? प्रश्नमा उनले कर्मचारी, भण्डारा सहितको धार्मिक काममा खर्च हुने गरेको बताए । उनले जानकी मन्दिरको बहुमुल्य गरगहणा तथा जेबरातहरु गुठी संस्थानले लगेर गायव गरेको आरोप समेत लगाएका छन् ।