एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ : जनकपुरधामको मुख्य धार्मिक तथा पर्यटनको आकर्षणको केन्द्रको रुपमा प्रचार प्रसार हुदै गएको महागंगा आरती आज आठ वर्ष पुरा गरि नवौं वर्षमा प्रवेश गरेको छ । आठ वर्ष अगाडि गंगा दशहराकै दिन जनकपुरधामको एतिहाँसिक गंगासागर सरोबरमा सुरु भएको महा गंगा आरतीको नवौं वार्षिकोत्सवको अवसरमा आज विशेष महागंगा आरतीको आयोजन गरिएको छ ।
मधेश प्रदेशका पर्यटन मन्त्री, प्रशासनिक निकायका प्रमुखहरुको उपस्थितीमा गंगाआरती भन्दा अगाडि भएको विशेष कार्यक्रममा सांस्कृतीक कार्यक्रमहरु समेतको आयोजना गरिएको छ । कार्यक्रममा धोतीकुर्तामा उपस्थिती धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मिथिलाको महत्वको वर्णन गर्दै जनकपुरधाम विकासका लागि महागंगा आरती कोसेढुङ्गा सावित हुने बताए ।
आज गंगादशहराको अवसर पनि रहेकाले गंगासागरमा विशेष महागंगा आरतीको आयोजना गरिएको क्लिन जनकपुर ग्रिन जनकपुरका अध्यक्ष प्रदेश सांसद रामअशिष यादवले बताए । कार्यक्रममा मधेश प्रदेशका पर्यटन मन्त्री सत्रुधन महतो, अप्पन टेलिभिजनका संचालक समिति सदस्य बलराम महतो सहितको उपस्थिती थियो ।
गंगा दशहरा मनाइयो
जनकपुरधाममा बिहीबार गंगा स्नान गरी ‘गंगा दशहरा’ पर्व मनाइएको छ । जेठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ । बिहीबार गंगासागरलगायत विभिन्न पोखरी तथा जलाशयमा सर्वसाधारणले गंगा स्नान गरेका छन् । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ ।
यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । वराह पुराणका अनुसार जेष्ठ शुक्ल दशमी बुधवारका दिन हस्त नक्षत्रमा गंगा नदी स्वर्गबाट पृथ्वीमा अवतीर्ण भएकी थिइन् । जसले सम्पूर्ण पाप नाश गर्दछिन । यसकारण यो दिनलाई दशहरा भनिएको हो । जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, हस्त नक्षत्र, गर, आनन्द, व्यतिपात, कन्या राशिका चन्द्र, वृष राशिका सूर्ययुक्त दस योगको मिलन भएका दिनमा स्नान गर्नाले मानिसका सबै पाप पखालिन्छन् । आजको दिन आम चिउरा खाने चलन छ ।