एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ : एक जिम्मेवार कर्मचारीले नै नेपाल टेलिकमको पोल चोरेर आफनो निजि खेतमा व्यक्तिगत प्रयोग गरिरहेको रहस्य उनकै परिवारजनले खोलेपछि नेपाल टेलिकममा भइरहेको चरण लापरवाही उदांगिएको छ । नेपाल टेलिकम जस्तो जिम्मेवार सरकारी स्वामित्वको संस्थाको जनकपुरधाम स्थित कार्यालयका प्राविधिक साहायक अधिकृत कमलेश यादव टेलिकमको पोल आफनो खेतमा जडान गरि छेउछाउका किसानहरुबाट सिचाई वापत पैसा असुल मात्र गर्दैन परिवारजनको जग्गा आफनै श्रीमतीको हो भन्दै टेलिकमको टावर आफनै गाँउको जग्गामा राखेर भाडा समेत कमाई रहेको रहस्य खुलेको छ ।
यादवले धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौ सय बिघ्घा स्थित आफनो बिघौ खेतमा छ वटा टेलिकमको पोल गाडेर विद्युतको लाइन जडान गरि सिचाईको बोडिङ्ग चलाएर पैसा कमाइरहेको उनकै जेठो भाई गणेश प्रसाद यादवको आरोप छ । गणेशका अनुसार पद र पहुँचको दुरुपयोग गर्दै भाईले चरण लापरवाही र अनियमितता गर्न थालेपछि गाँउवासीको गुनासो सहन नसकेर आफु टेलिकमको जनकपुरधाम, बिरगंज स्थित क्षेत्रीय, काठमाण्डौंको केन्द्रिय कार्यालय मात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्म पुगेको बताउछन् । गणेशले टेलिकमको जनकपुरधाम कार्यालयबाट चोरीभएको पोल र तार सहितको सरसमान पनि कमलेशले नै चोरेको आरोप लगाएको छ ।
यो कुरा बुझन स्थलगत रुपमा धनुषाधाम पुगेको पत्रकारहरुलाई स्थानिय किसानहरुले पनि कमलेश पद र पहुँचको आधारमा बोडिङ्ग चलाउदै पैसा कमाउने गरेको बताउछन् । कमलेशका भाई गणेश पोलचोरी र अवैध भाँडा सम्बन्धमा छानविनका लागि अख्तियार सम्म पुगेपछि अनुसन्धान अगाडि बढेको छ । टेलिकमको केन्द्रिय कार्यालयले क्षेत्रीय कार्यालय र जनकपुरधाम स्थित कार्यालयलाई सरसमानहरुको विवरण बुझाउन निर्देशन दिएपछि बल्ल पोल र तारहरु गायव भएको रहस्य समेत खुलेको र त्यसपछि मात्र जनकपुरधाम कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषालाई चोरीभएका सरसमान खोजबिनका लागि निवेदन समेत दिएको कार्यालय जनकपुरधामका प्रमुख अमरेश लाल कर्णले बताएका छन ।
गणेशको अग्रसरता र उजुरी पछि मात्र टेलिकमको सरसमान चोरी भएको खुल्नुले पनि टेलिकमको सरसमान मिलिभगतमा भित्रभित्रै चोरी हुने गरेको र व्यक्तिगत प्रयोजनामा प्रयोग भइरहेको समेत स्पष्ट हुन्छ । रहस्य वाहिर आएपछि कमलेश आफनी श्रीमतीलाई पठाएर गाँउको खेतमा गाडेको पोल उखेल्दै गर्दा प्रहरी त्याहाँ पुगेको दृश्य समेत पत्रकारलाई प्रहरी र स्थानियले उपलब्ध गराएको छ ।
एतिमात्र होइन कमलेशले गाँउमा बुवाको नाउँमा रहेको एक जग्गालाई आफनी श्रीमनी मिना देवीको नाउमा रहेको देखाउदै टेलिकमबाट सम्झौता गरि भाँडा पनि कमाइरहेका छन् । टेलिकमको केन्द्रीय कार्यालयले धनुषाको किसानपुरमा टावर जडान गर्न निर्देशन दिएपनि कमलेशले आफुखुसी नौसय बिघ्घा स्थित आफनै जग्गामा टावर ठड्याएर भाडाँ असुल उपर गरिरहेका छन् । यस सन्दर्भमा बुझन खोज्दा कर्मचारी कमलेशले आफु बालबच्चा सहित जनकपुरधाममा बसिरहेको र दाई गणेशलेनै पोल गाडेको भन्दै व्यक्तिगत रिसीबिका कारण यस्तो समस्या हुन गएको बताएका छन् ।