एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २० : जनकपुरधाम उपमहानगरपालिकाको ३५ सदस्यीय नगर कार्यपालिका चयनका लागि थप ८ जना सदस्य छान्नु पर्ने थियो । गत बैशाख ३० गतेको स्थानिय तह निर्वाचनबाट निर्वाचित कुल १ सय २७ जना जनप्रतिनिधीहरुको मतदानबाट तिनजना पुरुष र पाँचजना महिलाको छनौट हुनुपर्ने थियो ।
कुल १ सय २७ मा नेपाली कांग्रेससंग एक्लै मात्र ६९ मत रहेको थियो । थप पालिका सदस्य जित्न मात्र ६४ मत आवश्यक रहेपनि नेपाली कांग्रेसका दुईजना उम्मेदवारहरु पराजित भएका छन् भने सो स्थानमा एमालेका दुईजना निवार्चित भएका छन् । जनकपुरधाममा कांग्रेस भित्र देउवा र निधी समुहको किचलोका कारण अन्तर्घात भई एमालेले दुई सिटमा बाजी मारेको छ ।
नगर कार्यपालिका सदस्य चयनका लागि शुक्रबार भएको निर्वाचनबाट नेपाली कांग्रेसका ६ र नेकपा एमालेका २ जना सदस्य निर्वाचित भएका छन् । नगर सभा सदस्यले चयन गर्ने निर्वाचन प्रक्रियाबाट कांग्रेस र एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।
उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट महिला सदस्यहरुमा फूल कुमारी देवी, मनीषा कुमारी देवी, शारदा पन्त, शैल कुमारी चौधरी र संजू देवी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट दलित तथा अल्पसंख्यकतर्फ राकेश विक्रम साह र नेकपा एमालेबाट दिपेन्द्र कुमार साह तथा संतोष कुमार महतो निर्वाचित भएका छन् ।
निर्वाचित भएका राकेशले ८६, संतोषले ७८ र दिपेन्द्रले ६८ मत प्राप्त गरे । सोही पदमा नेकपा एमालेका उम्मेदवार जयशंकर गुप्ताले २९ र नेपाली कांग्रेसका पंकज कुमार महतोले ४९ तथा रामप्रवेश ठाकुरले ३५ मत प्राप्त गरेका छन् ।
नगर कार्यपालिका सदस्य चयनको निर्वाचनमा एमाले र कांग्रेस एक्ला एक्लै उभिएका थिए ।
बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट उपमहानगरपालिकाको नगर सभामा कांग्रेसबाट ७०, एमालेबाट ३६, लोसपा १०, स्वतन्त्र ६, जसपा ३, माओवादीबाट १ र तमलोपा १ गरी १२७ सदस्य निर्वाचित भएका थिए । उक्त निर्वाचनबाट निर्वाचित १२५ सदस्यले कार्यपालिका सदस्य चयनका लागि मतदान गरेका थिए ।
उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा ८ पदका लागि १६ जनाले उम्मेदवारी दिएका थिए । अव अन्तत: जनकपुरधामको ३५ सदस्सीय कार्यपालिकामा कांग्रेसको १८ सदस्य तथा अन्य दल मिलेर १७ सदस्य भएको छ । ८ जना कार्यपालिका सदस्य निर्वाचित भएसंगै जनकपुरधाम उपमहानगरपालिकाको ३५ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका १८, एमालेका ९, स्वतन्त्र ३, लोसपाका २, तमलोपाका १, माओवादीका १ र जसपाका १ जनाले प्रतिनिधित्व गर्ने भएका छन् ।
उपप्रमुख किशोरी साहसहित ११ वटा वडाबाट निर्वाचित वडाध्यक्ष र नव निर्वाचित ६ जना कार्यपालिका सदस्यको हैसियतमा रहनेछन् । यता नेकपा एमालेबाट ९, स्वतन्त्र ३, लोसपाका २, तमलोपाका १, माओवादीका १ र जसपाका १ जनाले कार्यपालिकामा प्रतिनिधित्व गर्नेछन् ।
यसैगरी कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएसंगै उपमहानगरपालिकाको नगर सभामा कांग्रेसको संख्या ७० पुगेको छ । दलित तथा अल्पसंख्यकबाट निर्वाचित भएका तीन जना स्वत: नगर सभाको सदस्य हुनेछन् । निर्वाचनको प्रक्रिया पूरा भएसंगै उपमहानगरपालिकाको नगर सभा र कार्यपालिकामा कांग्रेसले स्पष्ट बहुमत हात पारेको छ ।
एमालेको खुसी
कांग्रेसको बहुमत हुदा हुदै पनि देउवा र निधि समुहको टकरावले एमालेका दुईजना सदस्य निर्वाचित हुन पुगेका हुन । एमालेबाट निर्वाचित दुईजना सहित एमालेका युवाहरु आजै काठमाण्डौं पुगेर एमालेका सचिव रघुविर महासेठ तथा नेतृ जुली महतोलाई समेत बधाई तथा शुभकामना आदान प्रदान गरेका छन् ।
एमाले नगर कमिटि अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा काठमाण्डौं पुगेको उनीहरुको टिम पुर्वमन्त्रीद्वय संग बधाई आदान प्रदान गर्नुका साथै अव अझै एमालेलाई जनकपुरधाममा सशक्त बनाएर अगाडि बढने हौसला मिलेको निश्कर्ष निकालिएको एमालेका जनकपुरधाम अध्यक्ष भण्डारीले बताएका छन् ।