एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १६ : तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको दु:खद खवरले देशमै शोकमा डुबेको छ । जहाजमा रहेका चालक दलका ३ सदस्य र १९ जना यात्रु सबैको मृत्यु भएको घटनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिएको छ । नेपाली सेना, प्रहरी र घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन तथा उद्दारको काम गरिरहेको छ ।
आइतबार बिहान १०:१० बाट सम्पर्क विहिन भएर मुस्ताङको आकाशमा हराएको तारा एयरको ९ एन एईटी जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको हो । घटनको प्रकृती हेर्दा जहाजमा सवार सवैको मृत्यु भएको बताइएको छ । यद्यपि शव खोज्ने काम भइरहेको छ ।
धनुषालाई समेत पिरोलेको दु:खद दुर्घटना

उक्त दुर्घटनामा धनुषाका एकै परिवारका सात जना रहेकाले उनीहरुको समेत मृत्यु भएको निश्चित भएपछि धनुषाको मिथिला विहारी वडा नं. ११ को लोटा गाँउ शोकमग्न भएको छ । जहाजमा सवार १३ नेपाली मध्ये धनुषाको एकै परिवारका सातजना परेपछि टोलनै पिडामा परेको छ । मुक्तीनाथ दर्शनका लागि घरका बृद्वबृद्वा आफन्तहरुलाई लिएर जाने क्रममा मिथिला नगरपालिका–११ तुल्सी पाटो (लोटा) निवासी नेकपा एसका जिल्ला कमिटि सदस्य समेत रहेका राजन कुमार गोले उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ सहित सवार रहेको परिवारजनले पुष्टि गरेका छन् ।
परिवारजनका अनुसार उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । घटनास्थलमा रहेका थासाड गाउँपालिका वडा नम्बर ३ का स्थानीय युवा सुमित गौचनले घटनास्थलमा कोही पनि जिवित नभेटिएको बताएका छन् । उनले शवहरु क्षतविक्षत अवस्थामा भेटिएको बताए । जहाजमा चालक दलका ३ सदस्य सहित १३ नेपाली, दुई जर्मन नागरिक, चार भारतीय गरि २२ जना सवार सवैको मृत्यु भएको बताइएको छ ।

धनुषाका सात बाहेक अन्य छ जना नेपाली यात्रुहरुमा वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ र प्रकाश सुनुवार सवार रहेको नागरिक उडयन कार्यालय पोखराले जनाएको छ । आइतवार विहान ९:५५ बजे पोखराबाट जोमसोम उडेको थियो । जहाजमा पाइलट प्रभाकर घिमिरे, साहायक पाइलट उत्सव पोखरेल र एयरहोस्टेज कृष्मी थापा थिए । जहाजमा दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ थिए भने भारतीय नागरिक बान्देकर वैसवी, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका त्रिपाठी सहितका सवार थिए । जिल्लाको थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटेका हुन् ।