जनकपुरधाम, जेठ ११: बुधवार युवाहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै जनकपुरको शिव चौकमा प्रदर्शन गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको बताए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा उत्रेका युवा किसन साहले बताए ।
जनतालाई खान, लाउन शंकट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यवहारिक गतिविधिमा लिप्त रहेको साहको टिप्पणी छ । जनताको कर एसी गाडीमा झण्डा हालेर हिँड्नका लागि नभएको भन्दै राज्यले जनतामाथि परिरहेको शंकटको बेलामा अविभावकत्व लिनुपर्ने बताए ।
पार्टीमा लाग्यो भन्दैमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरुको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने जिकिर गरे । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनैपनि हिसावले ठिक नभएको बताए । सरकारले अविलम्व पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन बिरोधका कार्यक्रमहरु थप सशक्त बनाउँदै जाने चेतावनी समेत दिए ।
निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरुलाई सेवा, सुविधा थप गर्न सरकार लागि परेको भन्दै उनीहरुले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बताए ।
उनीहरुले आयल निगमले ३३ अर्ब घाटा भनेको तर ५५ अर्ब नाफा भएको कुरा जनतालाई नभनेको आरोप लगाए । प्रदर्शनकारीहरुले गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार, आयाल निगमका भ्रष्ट कर्मचारी मुर्दावाद जस्ता नारा लगाएर बिरोध गरेका थिए ।
सरकारले गत आइतवार रातिबाट लागू हुने गरेर प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । अहिले पेट्रोल प्रसतसलटर १८०, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईमा १६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १ हजार ८०० रुपैयाँ पुर्याएको छ ।