एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १० : धनुषाका १८ वटै पालिकाका प्रमुखहरुले एकै पटक शपथ ग्रहण गरेका छन् । जनकपुरधाममा मंगलबार आयोजित एक समारोहकाबीच सबै पालिका प्रमुखले सामूहिक रुपमै शपथ ग्रहण गरेका हुन् । जिल्लाका १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका प्रमुखले शपथ ग्रहण गरे ।
सबै पालिका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शपथ ग्रहण गराएका छन् । उक्त समारोहलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत प्याकुरेलले राजनीतिक नेतृत्वभन्दा माथि उठेर सबैलाई समान व्यबहार गर्न पालिका प्रमुखसँग आग्रह गरे ।
जनताको अपेक्षालाई पूरा गर्ने जिम्मेबारी पालिका प्रमुखसहित जनप्रतिनिधीको भएको भन्दै उनले चुनाव लडदा गरिएको भन्दा बढी परिश्रम अब गर्नुपर्ने समय आएको बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चुनाव अघिसम्म बिभिन्न दलबीच प्रतिस्पर्धा भएपनि अब सबैको जनप्रतिनिधी बनेकाले सोही अनुसारको यबहार गर्नुपर्ने बताए ।
उनले भोट हाल्नेको पनि नहाल्नेको पनि प्रतिनिधित्व गर्दै विकास, शिक्षा, स्वास्थ्यजस्ता मौलिक हकलाई मजबुत बनाउन आग्रह गरे । उनले अव कुनै पार्टीको नेताको रुपमा नभई जनताको सेवकको रुपमा अगाडि बढन प्रमुखहरुलाई आग्रह गरेका छन् ।