एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ९ : नेपाली कांग्रेसबाट बिद्रोह गरी बागी बनेका पार्टीका पुर्व नगरसभापती मनोज कुमार साह सुडी जनकपुरधामको प्रमुखमा निर्वाचित भएका छन् । यद्यपि उनको जितमा नेपाली कांग्रेसको सम्पुर्ण पार्टी पंक्तीको साथ र समर्थन रहेको छ । प्रमुख जिताउन पुर्व केन्द्रिय उपसभापती विमलेन्द्र निधीको अप्रत्यक्ष रुपमा महत्वपुर्ण योगदान रहेको छ । एता निर्वाचनमा कांग्रेसकै आधिकारिक उम्मेदवार किशोरी साह समेत उपप्रमुखमा निर्वाचित भएका हुन ।
प्रमुखमा साहले १३ हजार ४ सय ६५ मत प्राप्त गरेका छन भने उपप्रमुखमा साहले १५ हजार ५ सय २५ मत पाएका छन् । उनीहरु दुवैजनाका निकटतम प्रतिद्वन्द्वी प्रमुखमा एमालेका शिव शंकर साह हिराले ९ हजार ५ सय ३२ मत प्राप्त गरेको छ भने उपप्रमुखमा समेत एमालेकी रुणा देवी झाले १० हजार ८ सय ८५ मत ल्याएकी छन् ।
मधेशवादी दलहरुको राम्रै बोलबाला रहेको जनकपुरधाममा मधेशवादी बिचको फुटको मौका उठाउदै कांग्रेसले जितेको छ भने एमाले निकटतम प्रतिद्वन्द्वी बन्न सफल भएको छ । यस अघिको २०७४ को निर्वाचनमा एमालेले मात्र करिव पाँच हजार मत ल्याएका थिए भने यस पटक करिव दोब्बर मत ल्याएको छ । एमालेबाट मेयरका लागि करिव पाँच वर्षनै मेहनत गरेका हिरा र कांग्रेसमा उपप्रमुखको टिकट नपाएपछि मनोनयनको दिन कांग्रेस छाडेर एमाले भित्रिएकी झाको व्यक्तिगत क्षवीवाला मतले जनकपुरधाममा कमजोर मानिएको एमालेले सम्मानजनक उपस्थिती बनाएको छ ।
मेयर तर्फ यस अघि जितेको मधेशवादी दलहरु लोसपा तेस्रो र जसपा चौथो स्थानमा चित बुझाउनु परेको छ । लोसपाका उम्मेदवार मनोज चौधरी ५ हजार ३ सय ६० मत पाए भने निवर्तमान मेयर तथा जसपाका उम्मेदवार लालकिशोर साहले ५ हजार १ सय ९४ मत पाएका छन् । जनकपुरधामको कुल २५ वटा वडाहरु मध्ये १२ मा नेपाली कांग्रेस, ७ मा एमाले, लोसपा २, स्वतन्त्र २ र जसपा र तमलोपा १÷१ वडा अध्यक्ष जितेको छ । वडा नं. १० र २३ मा स्वतन्त्र जितेका वडा अध्यक्षहरु समेत कांग्रेसकै बागी उम्मेदवार हुन ।
यस्तो छ जनकपुरधाममा बागीले जितेको पृष्ठभुमि
२०४९ मा भएको स्थानीय निर्वाचनमा कांग्रेसले मेयरको टिकट दिगम्बर रायलाई टिकट दिएपछि कांग्रेसमा विद्रोह भयो । वृषेशचन्द्र लालले मेयर र लालकिशोर साहले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिए । दुबै निर्वाचित पनि भए । २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पनि जनकपुरले कांग्रेसका विद्रोहीलाई नै चेयर बनायो । कांग्रेसले दामोदारप्रसाद उपाध्यायलाई टिकट दिँदा बजरंगप्रसाद साहले स्वतन्त्र उम्मेदवारी मात्र दिएनन्, मेयरमा निर्वाचित नै भए ।